
काठमाडौँ, ११ फागुन / नेपाल टेलिभिजनबाट हरेक शुक्रवार प्रशारण हुँदै आएको हास्य टेलिसिरियल भद्रगोलको प्रशारण बन्द भएको छ ।
पछिल्लो समय संवादबाट सर्वसाधारण दर्शकहरुको मन जित्न सफल बनेको टेलिसिरियल गत हप्ताबाटै नेपाल टेलिभिजनबाट प्रशारण बन्द भएको हो । भद्रगोलसँगै सोमबार साँझ प्रशारण हुँदै आएको अर्को हास्य टेलिसिरियल ‘जिरे खोर्सानी’ पनि बन्द भएको छ ।
यी दुई हास्य टेलिसिरियलहरुको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वर्ल्ड भिजन एडभरटाइजिङका मालिक दिनेश श्रेष्ठ ठगी मुद्दामा पक्राउ परेपछि यता प्रशारणमा अवरोध उत्पन्न भएको हो । श्रेष्ठले सिद्धार्थ बैकमा राखेको धितो बापतको ५ करोड ८६ लाखा रुपैयाँ नक्कली भेटिएपछि उनी अहिले हनुमान ढोका पुगेका छन् ।
यसै घटनामा संलग्न देखिएका नेपाल टेलिभिजन व्यापार महाशाखाका प्रबन्धक पवन माण्डब्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठ पनि विभागीय कारबाहीमा पर्दै १५ दिनको लागि निलम्बनमा परेको स्रोतले बताएको छ ।
व्यवस्थापक र प्रशारकबीचको विवादले दुई चर्चित टेलिसिरियलको प्रशारण बन्द भए पनि यता कलाकारहरु भने सुटिङमै व्यस्त रहेको बताइएको छ । उनीहरुलाई कुनै जानकारी नआएकोले नयाँ श्रृङ्खला निर्माण गर्न उनीहरु जुटेका हुन् ।
