
पोखरा १३ फागुन । हात्तीपाईले रोग बिरुद्धको अभियानको क्रममा यस बर्ष कास्कीमा झण्डै ५ लाखलाई औषधि खुवाईने भएको छ । छैटौ तथा अन्तिम चरणको कार्यक्रम अन्तर्गत फागुन २३, २४ र २५ गते कास्कीका ४ लाख ९३ हजार ४ सय २७ जनालाई औषधि खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।
यो अभियानको लागि कास्कीमा २७ सय ८० स्वयंसेवक र ३ सय १५ स्वास्थ्यकर्मी तथा १५ सुपरभाईजर खटिने जिल्ला जनस्वास्थ्य प्रमुख बालकृष्गण भुषालले जानकारी दिए । अघिल्लो बर्ष ४ लाख ८४ हजार ६ सय १३ जनालाई औषधि खुवाउने लक्ष्य राखिएकोमा ७७ प्रतिशतलाई मात्रै यो रोग बिरुद्धको औषधि खुवाईएको थियो ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार कास्कीमा अहिलेसम्म जम्मा ९८ जना हात्तीपाईलेका बिरामी भेटिएका छन् । नेपालमा कुल जनसंख्याको ८० प्रतिशत मानिस हात्तीपाईले रोगको जोखिममा छन् ।
लगातार ६ बर्षसम्म यो रोग बिरुद्धको औषधि खुवाउने क्रममा कास्कीमा छौटौ तथा अन्तिम पटक औषधि खुवाउन लागिएको भुषालले बताए । नेपालका ६१ जिल्लामा यसको संक्रमण देखिएको छ भने उच्च पहाडी र हिमाली १४ जिल्लामा संक्रमण नदेखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
नेपालमा सन् २००३ मा पर्साबाट सुरुभएको यो अभियान अन्तर्गत अहिलेसम्म २० वटा जिल्लामा औषधि खुवाईसकिएको र कास्की सहित ४१ जिल्लामा यो बर्ष पनि औषधि खुवाउने अभियान सञ्चालन हुदैछ । सन् २०२० सम्म बिश्वबाट यो रोग उन्मुलन गर्ने लक्ष्य राखिएकोमा नेपालले सन् २०१८ सम्म हात्तीपाईले रोग निबारणको लक्ष्य राखेको छ ।
२ बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी आमाहरु, सिकिस्त बिरामी, कडा कुपोषण भएका ५ बर्ष मुनीका बालबालिकाले हात्तीपाईले बिरुद्धको औषधि सेवन गर्न नहुने जिल्ला जनस्वास्थ्य प्रमुख भुषालले जानकारी दिए ।
हात्तीपाईले रोग लागिसकेपछि कुनै उपचार नभएपनि प्रारम्भिक लक्षण देखापरेको अबस्था र रोग लाग्नबाट बच्नको लागि औषधि अनिबार्य सेवन गर्नुपर्ने पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. श्रीकृष्ण श्रेष्ठको सुझाब छ । हात्तीपाईले रोग फैलनबाट रोक्नु र बिरामीको संख्यामा कमी ल्याउनुको साथै रोग लागिसकेकालाई अन्य दिर्घ रोग, असक्त, कुरुप हुनबाट बचाउन औषधि खुवाईदै आएको छ ।
हात्तीपाईले बिरुद्धको औषधि सेवन गरेका मध्य केहिलाई सामान्य असर देखिने भएपनि आत्तीनु नपर्ने चिकित्सकहरुले बताएका छन् । औषधि सेवन गरेपछि टाउको दुख्ने, ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, पेट दुख्ने भएपनि आत्तीनु नपर्ने श्रष्ठले बताए ।
अहिले नेपाल सहित बिश्वका ८३ देशमा यो रोग बिरुद्धको औषधि खुवाउने क्रम जारी छ । सन् २००० देखि २०१४ सम्ममा बिश्वका एक अरब मानिसले औषधि सेबन गरिसकेका छन् । यो अबधिमा औषधि सेवनबाट बिरामीको संख्या ४३ प्रतिशत घटेको छ ।
बिश्वमा एक अरब भन्दा बढी मानिसहरु यो रोगको जोखिममा छन् भने १२ करोड संक्रमित रहेको तथ्याङकले देखाएको छ । दक्षिण एसियामा हात्तीपाईले रोगबाट संक्रमितको संख्या ७ करोड २० लाख छ भने भारतका दुई तिहाई मानिसमा यसको संक्रमण रहेको पाईएको छ ।
