तुलसीघाट व्यवस्थित गर्न कस्सिए स्थानीय, झण्डै चार लाख संकलन

589
0
Share:

रञ्जन अधिकारी पोखरा, १४ फागुन / व्यक्तिको मृत्युपछि अन्तिम संस्कारका लागि पोखराको तुल्सीघाट जान बाटो समेत भत्किएको र शव जलाउन समेत कठिनाई भएको भन्दै पोखरा ३ बासीहरु बाटो निर्माण तथा व्यवस्थित तुल्सीघाट निर्माणमा लागि परेका छन् । अशोक पालिखेको संयोजकत्वमा १७ सदस्यीय तुलसीघाट तथा बाटो निर्माण तदर्थ समिति गठन गरिएको छ ।

समितिले विहिबार बिहान कास्की क्षेत्र नं. २ सभासद् शारदा पौडेलसँग छलफल पनि गरेको छ । छिट्टै वृहत भेला आयोजना गरी सक्षम समिति गठन गरी अघि बढ्ने जानकारी गराईयो । मर्दापर्दा मात्रै सोहि बाटो र घाट प्रयोग गर्दा चेत हुने तर अरु बेला वास्ता नगर्ने प्रवृत्तिले अब निरन्तरता पाउनु हुँदैन भन्ने ठानेर हरि प्रसाद कर्माचार्यले मलामी गएकै बेला अब तुलसीघाटलाई व्यवस्थित गर्न कस्सिएको बताए । सबै कुराले सुसम्पन्न सांस्कृतिक रुपमा धनी पोखरा ३ बासी अब नताति हुने महसुस गरेर आफू लागि परेको उनको भनाई छ । कर्माचार्यकै पहलमा सुरु भएको अभियानमा हालसम्म तीन लाख ८० हजार बढि रकम संकलन भईसकेको सहकोषाध्यक्ष पुरुषोत्तम पन्तले बताए । १२ लाख बढि प्रारम्भिक लागत लाग्ने देखिएको सदस्य अष्टमान प्रधानाङ्ग बताउँछन् । वैशाखबाटै काम सुरु गर्ने र खानेपानी व्यवस्था तथा किरियापुत्री भवन बनाउने समेत योजना छ ।

सभासद् पौडेलले आफूले उच्च प्राथमिकतामा राखेर तुलसीघाटलाई व्यवस्थित गर्ने बताईन् । यसपटकको बजेट बाँडफाँडको काम सकिएको र सार्वजनिक गर्न मात्र बाँकी भएको जनाउँदै उनले अर्को वर्ष तुलसीघाटले स्थान पाउने बताईन् । ‘मलाई यसबारे पत्तै भएन । नत्र रामघाट, शान्ति घाटलाई हेरिरहँदा तुलसीभाटका बारेमा पनि केहि गर्ने थिएँ, कम्तिमा १० लाख त पर्ने थियो ।’ उनले भनिन् ‘यस वर्ष तीन चार लाख जुटाउने वाचा गर्छु, अर्को वर्ष बजेट पार्ने नै छु ।’ तर, केहि स्थानीयले भने आफूहरुले बेलैमा ध्यानाकर्षण गराईसकेको बताएपछि सभासद् पौडेलले आफूलाई हेक्का नै नभएको बताईन् ।

जिल्ला विकास समिति सरोकार समितिका उपाध्यक्ष दुर्गा बहादुर सुनारले बाटो नै समस्या रहेको भन्दै राम्रो काममा आफ्नो सदैव सहयोग रहने बताए । मोहोरिया सिंहनाथ टोल विकास संस्थाका अध्यक्ष दुर्गामान बुद्धाचार्यले तुलसीघाटमा व्यवस्थित चित्ता निर्माण, दाउराको मितव्ययिता तर्फ पनि ध्यान दिनुपर्ने सुझाउँदै नाफामुलक भन्दा सहजतातर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

मानव मिलन महिला समूहकी अध्यक्ष गीता कुँवरले महिलाहरुले वर्षेनी बाटो निर्माणका लागि काम गरेको जनाउँदै अब यसरी सबै लागेकामा खुशी व्यक्त गरिन् ।
स्थानीय शशीधर पराजुलीले पोखरा ३ बासीहरु सबै एकजुट भएर सुविधासम्पन्न घाट निर्माण गर्नुपर्ने बताए । बाढीले समेत नबगाउने किसिमले गुरुयोजना नै निर्माण गरेर लाग्नुपर्नेमा उनको जोड छ । बन्धुराज पराजुलीले सबै एकजुट भएर अघि बढे मात्र काम सम्पन्न हुने बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष कृष्णदेव प्रधानाङ्गले निकै आवश्यक रहेको यो काममा अब ढिलाई गर्न नहुने बताए । कार्यक्रममा सदस्य केदारप्रसाद मर्सानीले स्वागत तथा सदस्य अष्टमान प्रधानाङ्गले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: