रेम बिक पोखरा, १४ फागुन । विश्वप्रसिद्ध भेस्पा ब्राण्डका स्कुटरको विक्रिवितरण पोखरामा पनि शुरु भएको छ । भेस्पा स्कुटरको उत्पादन कम्पनी पियाजिओको पोखरास्थित आधिकारिक विक्रेता रवि अटोमोबाईल्सले यो ब्राण्डलाई पोखरा ल्याएको हो ।
विक्रेता रवि अटोमोबाईल्सका अनुसार अहिले तीनवटा रंगमा भेस्पा स्कुटरहरु पोखरामा उपलब्ध छन् । कालो, रातो र सुन्तला रंगका यी स्कुटरहरुलाई छुटसहित ३ लाख ९५ हजार रुपैँया पर्ने कम्पनीले जनाएको छ । विश्वमै महँगो स्कुटरको रुपमा परिचित यो स्कुटर पोखराको बजारमा अत्याधिक माग रहेको स्कुटरमा पर्ने अटोमोबाईल्सका संचालक टिकाकुमारी गुरुङले जानकारी दिईन् ।
विश्वकै पुरानो स्कुटरको रुपमा परिचित भेस्पा यूरोपियन मुलुकहरुमा निकै रुचाईएको ब्राण्ड हो । ‘क्लासिक लुक्स’सहित उच्चस्तरको ईन्जिनहरुको प्रयोग भएर निर्माण भएको स्कुटर भएका कारण अन्य साधारण स्कुटरको तुलनामा केहि महँगो भएको गुरुङले बताईन् । ‘यो स्कुटर केहि महँगो त पक्कै छ ।’ उनले भनिन्–‘तर यसको क्लासिक लुक्स, सुविधा र प्रस्तुतीको हिसाबले स्कुटर चढ्ने व्यक्तिलाई पुर्ण रुपमा सन्तुष्टि दिनेछ ।’
यो स्कुटर किन्ने व्यक्तिहरुका लागि कम्पनीले पाँचवर्षसम्म ईन्जिन वारेन्टी दिएको छ । यस्तै पाँच वर्षसम्म करिब २४ पटक निशुल्क स्कुटरको सर्भिसिङ सुविधा पनि कम्पनीले दिएको छ । १ सय २५ सिसिको यो स्कुटरमा ८ लिटर क्षमताको ईन्धन ट्याङ्की रहेको छ भने प्रतिघण्टा ५५ किलोमिटर माईलेज दिने कम्पनीले दाबी गरेको छ । पोखरामा तीन स्थानमा भेस्पाको सर्भिस सेन्टर रहेको छ । स्कुटरको मुल्य महँगो भएपनि मर्मत खर्चको हिसाबले अरु स्कुटरभन्दा निकै सुलभ दरमा मर्मत हुने उसले बताएको छ ।
काठमाण्डौमा केहि समय अगाडि नै भेस्पा स्कुटरको विक्रिवितरण शुरु भएपनि पोखरामा केहि ढिला गरि मात्रै यो स्कुटर भित्रिएको हो । विहिबार एक विशेष समारोहबीच संचारकर्मी सरस्वती गुरुङ र पहिलो मिस तमुस्यो बुद्धिलक्ष्मी गुरुङले सँयुक्त रुपमा भेस्पा स्कुटरको लञ्च गरेका थिए । भेस्पा स्कुटरको लञ्चिङमा पुगेका संचारकर्मीहरुले समेत विहिबार टेस्ट ड्राईभ गरेका थिए । भेस्पा स्कुटरमै चढेर उनीहरु नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, लेकसाईड, सृजनाचोक, न्यूरोड, महेन्द्रपुल हुँदै रवि अटोमोबाईल्सको शो रुममा फर्केका थिए ।
