खुल्लामञ्चको सभामा दुई लाख जना सहमागी गराउने एमाओवादी मोर्चाको दाबी

269
0
Share:

काठमाडौं, फागुन १५ / एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले शनिबार खुलामञ्चमा गरिने सभामा कम्तिमा दुई लाख जनालाई सहभागी गराउने दाबी गरेको छ ।

३० दलीय मोर्चाको शुक्रबार एमाओवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सभामा कम्तीमा दुई लाख जनालाई सहभागी गराउने र त्यसका लागि काठमाडौं र ललितपुरका विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने निर्णय गरेको छ ।  गठबन्धनको निर्णय अनुसार एमाओवादीले चाबहिल, बालाजु, कालिमाटी लगनखेल र माइतीघर मण्डलाबाट, संघीय समाजवादीले डल्लु र बसन्तपुरबाट, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले त्रिपुरेश्वरबाट जुलुस निकाल्ने छन् ।

यस्तै तराइ मधेस सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टीले बबरमहल, तराई मधेस सद्भावना पार्टीले कुपण्डोल, पहिचानमा आधारित संघीय गठबन्धनले भृकटीमण्डप, राष्ट्रिय मधेस समाजवादी पार्टीले जावलाखेल र पाँच वटा साना पार्टीले भद्रकालीबाट जुलुस निकाल्ने छन् । बैठकले सभालाई अनुशासित र शान्तिपूर्ण बनाउने निर्णय गरेको ३० दलीय गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

गठबन्धनका अनुसार सबै स्थानबाट ११ बजे जुलुस निकाल्ने र १२ बजे खुलामञ्चमा झाँकी प्रदर्शनको कार्यक्रम छ । सभामा तामाङ, लिम्बु, शेर्पा, थारु, मगर, गुरुङ लगायतका समुदायको संस्कृति झल्किने १३ वटा सांस्कृतिक झाँकी तथा नाच प्रस्तुत गरिने गठबन्धनले जनाएको छ । झाँकी र नाचपछि दिउँसो १ बजे नेताको सम्बोधन सुरु गर्ने तथा दिउँसो ४ बजे सभा सक्ने गठबन्धनको कार्यतालिका छ ।

कमेन्ट गर्नुहोस्
Share: