बुढासुब्बा गोल्डकपमा आयोजकको सेमिफाइनल यात्रा तय

417
0
Share:

१६ फागुन, धरान / पहिलो पटक सहभागी रुपन्देहीको लिस्नु क्लबविरुद्ध रवाफिलो जित हात पार्दै आयोजक धरान फुटबल क्लब १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनल पुगेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको उद्घाटन खेलमा आयोजकले कमजोर मानिएको लिस्नुलाई ४–० ले हरायो। आयोजकको जितमा अफ्रिकन खेलाडी सेडि्रक आबा, निराजन खड्का, प्रकाश बुढाथोकी र शशी राईले एक एक गोल गरे।

पहिलो हाफको १९ औं मिनेटमा प्रतियोगिताकै पहिलो गोल गर्दै सेडि्रक आबाले आयोजक टिमको खाता खोलेका थिए। पहिलो हाफमा एक गोलको अग्रता लिएको धरानले तीन गोल दोस्रो हाफमा गर्यो। दोस्रो हाफको १३ औं मिनेटमा निराजन खड्काले गोल गर्दै अग्रता दोब्बर बनाए। यस्तै, २९ औं मिनेटमा सेडि्रक आबाको पासमा प्रकाश बुढाथोकीले डि बक्स नजिकबाट पहिलो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो भने बैकल्पिक खेलाडीकोरुपमा मैदानमा छिरेका शशी राईले ४१ औं मिनेटमा एक गोल थपे। धरान एकेडेमीका उत्पादन शशीको यो सिनियर टोलीमा डेब्यु खेल हो। उनी मैदानमा प्रकाश बुढाथोकीको वैकल्पिक खेलाडीकोरुपमा मैदानमा प्रवेश गरेका थिए।

तीन विदेशी खेलाडी र ए डिभिजन क्लब थ्री स्टारका पाँच खेलाडीसहित मैदानमा उत्रिएको आयोजक खेल अवधिभर हावी रह्यो। पहिलो हाफको ७ मिनेटमा नै प्रकाश बुढाथोकीको प्रहार लिस्नुका गोलकिपर राजु नगरकोटीले पञ्च गरेर बचाए भने ९ मिनेटमा गोही नेनेको प्रहार पनि गोलकिपरले फर्काए। यस्तै, २९ औं मिनेटमा प्रकाश बुढाथोकीले डि बक्स नजिकबाट गरेको प्रहार पोष्ट माथिबाट बाहिरयो। दोस्रो हाफको १६ औं मिनेटमा हेमन्त थापाको पासमा गोही नेनेले वान भर्सेस वानको स्थितिमा पनि गोल गर्न चुकेका थिए भने ३७ औं मिनेटमा हेमन्तकै पासमा निराजन खड्काको प्रहार गोलकिपरले बचाए।

रुपन्देहीको लिग च्याम्पियन लिस्नुमा तीन नाइजेरियन भिक्टर, एल्भीस, लावल र ए डिभिजन क्लबका खेलाडी अनिल ओझा, जावलाखेल क्लबका कप्तान जग्गुनाथ खड्का, सुरज थिङ र राजु योगीजस्ता खेलाडी भएर पनि लिस्नुको प्रर्दशन कमजोर रह्यो। खेलको म्यान अफ दि म्याच प्रकाश बुढाथोकी घोषित हुदै नगद ५ हजार हात पारे। उनलाई प्रमुख अतिथि एवं सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राई र कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी ज्ञानबिक्रम शाहले पुरस्कार दिएका थिए।

लिस्नुका टिम मेनेजर यम आलेले खेलाडीले परिश्रम गरेर खेले पनि टिमसेट नमिलेकोले हार भएको बताए। ए भिडिजनका खेलाडी र आफ्नो खेलाडीबीच अभ्यास नहुदा खेलमा तालमेल नमिलेको र मिडफिल्डमा कमजोरी भएको उनले स्वीकारे। धरानका प्रशिक्षक सुवास केसीले अपेक्षाअनुरुप जित हात पारेपनि खेलाडीहरुबीच तालमेल अभाव भएको भन्दै असन्तुष्टी जनाए।

प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी क्लब काठमाण्डौं र पोखरा ११ कास्कीबीच खेल हुने आयोजकले जनाएको छ। फागुन २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारत कलकत्ताको बेलगरिया स्पोर्टिङ क्लबसहित विभिन्न ८ वटा टिमले सहभागीता जनाएको छ। विजेताले नगद ३ लाख ६० हजार र उपविजेताले नगद १ लाख ८० हजार पाउनेछ। उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल दिइनेछ।

कमेन्ट गर्नुहोस्
Share: