ड्यामसाईड डम्पिङसाईट बनेकोमा चिन्ता, तीन ट्रक फोहोर संकलन

557
0
Share:

रञ्जन अधिकारी पोखरा, १६ फागुन /पोखराका ड्यामसाईडबाट मात्रै शनिबार तीन ट्रक फोहोर उठाईएको छ । ड्यामसाईड क्लब पोखरा १७ को अगुवाईमा बिहान भएको वृहत सरसफाई कार्यक्रमबाट यतिको फोहोर उठेको हो । ड्यामसाईड पार्कदेखि सुरु सरसफाई राष्ट्रबैंक चोकदेखि मुस्ताङचोक तथा विरौटाचोक सडक क्षेत्रमा गरिएको हो । चार टोलीमा विभाजन गरी फोहोर संकलन गरिएको थियो ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालले प्रहरी निरीक्षक उत्तम प्रकाश बराललाई फेवाताल सरसफाईका लागि फोहोर संकलन गर्न दुई दर्जन औजार हस्तान्तरण गरी सरसफाई सुरु गरिएको थियो । उद्घाटन समारोह भने गरिएन । अध्यक्ष ढकालले ड्यामसाईड पर्यटकीय क्षेत्र भएपनि सरोकारवालाको ध्यान यहाँको सरसफाईतर्फ नभएको बताउँदै जनचेतना जगाउने उद्देश्यले पनि सरसफाई कार्यक्रम आयोजना गरिएको बताए । फेवातालको ड्याम क्षेत्रमा पनि सरसफाई गरिएको थियो ।

‘ड्यामसाईड त डम्पिङसाईट जस्तो पो बन्यो । अब यहाँ स्थित सबैं संघसंस्था मिलेर आम ड्यामसाईडबासीमा सचेतनाका लागि पनि कार्यक्रम आयोजना गरिएको हो‘ – उनले भने – ‘फिस्टेलघाटदेखि तलतिर कसैको नजर नपर्ने भयो, यहाँको स्थिति झन् झन् नाजुक बन्दै गएकाले सफा गरौं भनेर जुटेका हौं ।’

सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी गण पार्दी, ड्यामसाईड, पुल्चोक, सिद्धार्थ राजमार्ग, शान्ति, जागरण, सञ्चयकोष लगायतका टोलविकास संस्थाहरु, युवा जागरण समूह, सक्षम, हिमालीमार्ग तथा पवित्र महिला समूहहरु, सञ्चयकोष आवास उपभोक्ता समिति, फिस्टेलघाट डुंगा समिति, सप नेपाल प्रालि, ड्यामसाईड पर्यटन प्रवद्र्धन समिति लगायतको सहकार्य रहेको थियो ।

पोखराको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको पोखरा उपमहानगरपालिका कार्यालयले गाडीको अपर्याप्तता, जनशक्तिको अभावले नियमित रुपमा टोलका फोहोर संकलन गर्न नसकिरहेको अवस्था छ । हप्तामा एक पटक जसो फोहोरको गाडी टोल–टोल पुग्ने गरेको छ । तर पर्याप्त छैन । नत नियमित नै छ, नगरबासीको एउटै गुनासो छ ‘फोहोर उठाउने गाडी नै नियमित आउँदैन ।’ कार्यालयका फोहोरमैला व्यवस्थापन शाखा प्रमुख चुडामणि तिवारी भने स्रोत र साधनले भ्याएसम्म पोखराका फोहोर उठाउन आफूहरुले कुनै कसर बाँकी नराखेको जिकिर गर्छन् । तिवारी पछिल्लो समय पोखरेलीहरु सरसफाईप्रति जागरुक भएको बताउँछन् ।

२०६६ सालमा नेपाल सरकारले सार्वजनिक निजी साझेदारी अवधारणा अघि सारेपछि सोहि अनुरुप उपमहानगर कार्यालयले केहि वडामा पोखरा फोहोरमैला व्यवस्थापन प्रा.लि र वातावरणीय सुन्दर नेपाल प्रा.लि.सँग मिलेर फोहोरको व्यवस्थापन गर्दै आएको छ । पोखरा फोहोरमैला व्यवस्थापन प्रालि र वातावरणीय सुन्दर नेपाल प्रालिसँगको सहकार्यमा पोखरा उपमहानगरपालिकाले बजार क्षेत्रको फोहोर उठाउँदै आएको छ ।

पोखरेलीहरु आफ्नो घरमात्रै सफा होईन सबैले घर अगाडिको बाटो मात्रै सफा राखेपनि सडकमा फोहोर थुप्रिन पाउँदैनन् । रात पर्न पाउँदैन घरका फोहोर सडकमा फालेको सबेरै देख्न सकिन्छ । चौतारा, मन्दिर क्षेत्र समेत फोहोरले ढाकिएको देख्न सकिन्छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाको गाडी मात्रै कुरेर बस्ने होईन, सडकममा फोहोर मिल्क्याउन रातको पर्खाईमा रहने मात्र होईन, आफूलाई शिक्षित र सफा सुग्घरी भनियोस् भनेर चाहनेले यस तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ ।

 

 

कमेन्ट गर्नुहोस्
Share: