
लेखनाथ, १७ फागुन | लेखनाथ नगरपालिकामा पर्ने बेगनासताल क्षेत्रमा ‘माछा महोत्सव’ हुने भएको छ । बेगनासतालकै छेऊ मन्दरेपार्कमा हुने पहिलो माछा महोत्सवको बारेमा आयोजक होटल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । फागुन २२ देखि २४ गतेसम्म चल्ने माछा महोत्सवको तयारी करिब पुरा भएको आयोजकले बताएको छ ।
लेखनाथ क्षेत्रका पर्यटकीय संभावना भएका स्थलहरुलाई प्रचार गर्नुका साथै त्यस क्षेत्रमा उत्पादित माछा, मह, कफी, जडीवुटीहरुको प्रचार प्रसार गर्नु मेलाको लक्ष्य रहेको आयोजकले बताएका छन् । महोत्सवमा आउने दर्शकका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकले दर्शककै लागि विभिन्न प्रकारका माछाका परिकार र मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राखेको छ । फेस्टिभलमा करिब ३० वटा स्टल रहनेछन् ।
त्यो सँगै फेस्टिभलमा महिला तथा पुरुष खुल्ला डुंगा दौड प्रतियोगिता, पप कन्सर्ट, लोकदोहोरी साथै भेषभूषा तथा झाँकी प्रर्दशनी, खुल्ला पौडी प्रतियोगिता, बाल उद्यान र चिडियाघर लगायत रहने फेस्टिभलका मुल सँयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिए ।
फेस्टिभल संचालनका लागि करिव ९ लाख खर्च हुने र करिव ११ लाख आम्दानी हुने आयोजकको अनुमान छ । वचत भएको रकम वेगनास तालको संरक्षण तथा सरसफाई, लेखनाथको तालचोकमा स्वागत गेट, लेखनाथको प्रचार प्रसाका लागि होडिङ वोर्ड राख्नुका साथ लेखनाथका पर्यटकिय क्षेत्रहरुको जानकारी सहितको व्रोसर छपाईमा खर्च गरिने आयोजकले बताएको छ ।
तस्वीर:दिननाथ बराल
