स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु

293
0
Share:

काठमाडौं, १७ फागुन । स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । मोडल अस्पतालमा उपचार गर्दागर्दै काठमाडौं क्षेत्रपाटीकी ५० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको आइतबार मात्रै पुष्टि गरेको छ । मृतक महिलाको परिचय गोप्य राखिएको छ । महाशाखा प्रमुख बाबुराम मरासिनीले भने, ‘उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको जानकारी आएको छ ।’ मोडल अस्पतालका चिकित्सकले सेकेण्डरी अवस्थामा पुगिसकेकोले ति महिलालाई बचाउन नसकिएको बताएका छन् । रुघा लाग्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या भएपछि उनलाई १५ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

गत विहीबार ति महिलामा स्वाइन फ्लु एचवान एनवान पुष्टि भएको थियो । त्यसलगत्तै स्वास्थ्य मन्त्रालयलाई खबर गरिएको थियो । स्वाइनफ्लुको उपचार गर्ने विशेष कक्ष नभएको भन्दै मन्त्रालयले पाटन अस्पतालमा लैजान सुझाव दिएको थियो ।

symptoms-of-Swinflue-648x239

तर, पाटन अस्पतालमा आईसीयू खाली नभएको जवाफ आएपछि उनलाई मोडल अस्पतालमै राखेर उपचार जारी राखिएको थियो । ति महिलाको उपचारमा संलग्न मोडल अस्पतालका चिकित्सकले भने, ‘पाटनबाट आईसीयू खाली नभएको खबर आएपछि यहीँ राखेर उपचार गर्दै थियौं, तर सेकेण्ड स्टेजमा पुगिसकेकोले उपचार गर्दागर्दै मृत्यु भयो ।’

भारतमा महामारीको रुपमा फैलिएको स्वाइनफ्लु विरुद्धको औषधि र उपकरण नेपालमा अभाव छ । भारतसँग जोडिएका सिमा क्षेत्रमा पनि पर्याप्त सतर्कता अपनाइएको छैन । नेपालमा संक्रमित विरामीको संख्या बढ्दै गएको छ । जोखिम उच्च र सतर्कता फितलो भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।एकप्रकारको रुघा जस्तो रोग स्वाइनफ्लु एच वान एन वान भाइरसबाट सर्दछ । यसको संक्रमण भएमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, उच्च ज्वरो आउने, स्वासप्रश्वासमा समस्या हुने, खाना खान मन नलाग्ने, पखाला लाग्ने लगायतका समस्या देखा पर्दछ ।

safe-way-for-Swinflue

यसबाट बँच्न नाकमुख राम्रोसँग छोपिने मास्क प्रयोग गर्ने, भिडभाडमा नजाने, कसैसँग भेट हुँदा हात मिलाउनुको सट्टा नमस्कार गर्ने, रुघाखोकी लागेमा घरमै आराम गर्ने र प्रशस्त झोलीलो खानेकुरा खानुपर्ने हुन्छ । रुघाखोकी लाग्नेवित्तिकै सामान्यरुपमा नलिन र उपचार गराइहाल्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

Onlinekhabar

कमेन्ट गर्नुहोस्
Share: