ओलीले भने– ‘पैसा खर्च गरेर कार्यकर्ता भेला गर्दैमा उत्साही नभए हुन्छ’

526
0
Share:

काठमाडौँ, फागुन १७– नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले हिजोको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आफू विरुद्ध छुद्र गाली गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले एमाओवादीले विगतदेखि नै ‘यसपालिको हैजा ओलीलाई लैजा’ जस्ता आक्रामक नारा लगाए पनि केही फरक नपरेका भन्दै त्यस्ता अभिव्यक्तिबाट प्रभावित हुनु जरुरी नभएको पनि बताए ।

उनले उनीहरुले यस्तो आरोप लगाएपनि एक दिन मर्नु सबै पर्ने बताउँदै भने, “के त्यस्तो आरोप लगाउने पार्टी नेतालाई चाहिँ आर्यघाट जानु पर्दैन र ?” साता मनोनीत केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रममा बोल्दै उनले यस्तो बताउँदै खुलामञ्चमा आयोजित सभामा एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई ‘नेपाली काँग्रेसमा मिले हुन्छ’ भन्ने अभिव्यक्तिको प्रतिवाद समेत गरे । उनले भने– “एक महिना लामो तयारी गरेर खर्च गरेर कार्यकर्ता भेला गर्दैमा कोही उत्साहित हुनु पर्दैन ।”

केन्द्रीय सदस्यहरको सपथ

सो अवसरमा गत साता मनोनीत १० केन्द्रीय सदस्यमध्ये नौजनाले आज ओलीबाट शपथ लिए । पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपत्यका बाहिर भएका कारण कृषिमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य हरि पराजुलीबाहेक अन्यले शपथ लिएका हुन् । गत असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनपछि यही फागुन १३ गते केन्द्रीय कमिटीमा १० पूर्ण सदस्य मनोनीत भएका थिए ।

मनोनीत हुनेमा पराजुलीसहित केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, रामकुमार ज्ञवाली र जया घिमिरे छन् ।

कार्यक्रममा अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताले नयाँ सदस्यलाई बधाइ दिए । सो अवसरमा अध्यक्ष ओलीले पार्टीमा धेरै योग्य र सक्षम व्यक्तिहरू रहे पनि सीमित व्यक्तिलाई मनोनीत गर्न सकिएको भन्दै जिम्मेवारीलाई सक्रियताका साथ बहन गर्न आग्रह गरे ।
कार्यक्रममा नेता नेपालले पार्टीमा रहेका सबैलाई उचित मूल्याङ्कन गरेर जिम्मेवारी दिने प्रणाली स्थापित गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: