बस आठ बल्ड्याङ खाएको थाहा छ

508
0
Share:

रञ्जन अधिकारी पोखरा, २२ फागुन / क्याबिनमा बसेको थिएँ, गुडिरहेको थियो, भासिएको रैछ बस पल्टिहाल्यो । सराङकोटको बस दुर्घटनामा परी घाईते भएका अजय जिसीले भने– आठ बल्ड्याङ खाएको थाहा छ, त्यसपछि म उछिट्टिएँ । तर होस गुमाईन ।

सराङकोट सौदाचौताराका १४ वर्षीय अजय घटनाको विवरण यसरी सुनाउँदै थिए । अजय बुबाको उपचारका लागि मणिपाल अस्पताल आउँदै थिए आमा सहित । तर परिवारका तीनै जना अकल्पनीय दुर्घटनामा पर्दा मणिपाल अस्पताल घाईते अवस्थामा पुग्नुप¥यो । आकस्मिक कक्षमा भेटिएका अजय खतरामुक्त थिए । उनका बुबा झलक र आमा हिराको स्वास्थ्यवस्था पनि सामान्य रहेको उनले जनाए । स्थानीय जनजागृत उच्च माविमा ८ कक्षामा अध्ययनरत अजयले ड्राईभरसँगै क्याबिनमा बसेको र बस साहुले चलाएको दाबी गरे । कति यात्रु चढेका थिए भन्ने प्रश्नमा उनले जवाफ फर्काए – ‘सय जति नै थियो होला, टनाटन थियो, हामी त अगाडि थियौं ।

दुर्घटना लगत्तै एम्बुलेन्स पुगेकाले पनि चाँडै हस्पिटल आउन सकेको उनले सुनाए । मणिपाल अस्पताल परिसरमा शुक्रबार दिउँसो आफन्तको भिडभाड थियो । ४० बढि घाईतका आफन्त शोकमग्न थिए । मृतकका नातेदार रुवाबासी गर्दै थिए । सराङकोट कपासेका डम्बर बहादुर खड्का नाँक कान, मुख वार्डमा भेटिए । उनी बोल्न सक्ने अवस्थामा थिएनन्, उनकी श्रीमती विष्णुका अनुसार कोरियाबाट छोरोले पठाएको पैसा झिक्न खड्का पोखरा आउँदै थिए । मुख र नाकमा गम्भीर चोट लागेका खड्काको टाउकोमा समेत दर्जन टाँका लगाईएको छ ।

वडा नं. २६ को रुपमा बन्दै सराङकोट पोखरा उपमहानगरपालिकामा गाभिसक्यो । तर, सराङकोट पोखराको सडक भने कच्ची नै छ । बर्षेनी जसो यसरी यात्रुहरुले ज्यान गुमाउनुपर्ने बाध्यता छ । यात्रुले पनि क्षमता भन्दा बढि नचढ्ने र चालक पनि परिचालक वा साहुलाई नलगाई आफैले सावधानीपूर्वक सवारी चलाउने हो भने यस्ता दुर्घटना टर्ने थियो ।

 

कमेन्ट गर्नुहोस्
Share: