
काठमाडौं, फाल्गुन २३ – टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि चार दिनदेखि अबरुद्ध त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
टर्किस एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज हटाइएपछि शनिबार रातिदेखि उडान सुचारु भएको हो । दुर्घटनाग्रस्त जहाजलाई अहिले एक किलोमिटर टाढाको ‘डोमेस्टिक एप्रोन’मा लगिएको छ । चार दिनदेखि ‘रन-वे’मा लैजान नसकेपछि शनिबार हेलिकोप्टर चार्टर गरेर ७ जना प्राविधिकहरु भारतबाट आएका थिए ।
‘रन-वे’ सफाइ सकिएपछि साढे ७ बजेदेखि उडान सुचारु भएको विमानस्थल स्रोतले जनाएको छ । सुरुमा नेपाल एयरलाइन्सको दुइटा ठूला जहाज एयरबस र बोइड उडेपछि अन्य जहाज पालैपालो उड्नेछन् ।
विमानस्थल खुलेलगत्तै निजी विमान कम्पनीहरुले काउन्टर खोलेका थिए । उडान सुरु गर्नुअघि नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान भर्ने २६ वटै अन्तर्राष्ट्रिय जहाजका स्टेशन म्यानेजरलाई बोलाएर सेड्युल मिलाउन भनेको थियो ।
प्राधिकरणका उपनिर्देशक प्रेमनाथ ठाकुरका अनुसार टर्किस एयरलाइन्सको अर्को जहाज इस्तानबुलबाट आइतबार बिहान आउँदैछ । विमानस्थल खुलेलगत्तै यात्रुको भीड बढेको छ । ट्याक्सीहरु चल्न थालेका छन् ।
काठमाडौंबाट रातभर नै जहाजहरु चल्नेछन् ।
