एकैसाथ १० गजलकारहरुले जमाए मेहफिल, गजलमा स्रोताको वाहवाही

868
0
Share:

रेम बिक / पोखरा, २४ फागुन | शनिबार पोखरामा विशेष गजल वाचन कार्यक्रम भएको छ । गजल सन्ध्या पोखराको आयोजना तथा आदर्श नेपाल राष्ट्रिय दैनिकको प्रस्तुतीमा विशेष गजल वाचन भएको हो । गजल वाचनमा १० जना गजलकारहरुले आफ्ना गजलहरु सुनाएका थिए ।

gazal-photo-copy

कार्यक्रम अवधीभर दश जना गजलकारहरुले ३० वटा भन्दा बढि गजलहरु सुनाए । मायाप्रेम, देश, माटोको माया, समसामयिक विषयवस्तु जस्ता विषयमा गजलकारहरुले गजलमार्फत ‘मेहफिल’ जमाएका थिए । पोखराका ६ जना गजलकारहरु र पुर्वी तथा पश्चिम नेपालबाट आएका चार गजलकारहरुलाई स्रोताहरुले पनि उत्तिकै साथ दिए । आफ्ना विशेष गजल वाचन गर्नकै लागि पश्चिम कैलालीबाट विवेक विषालु, पुवी झापाबाट केशव भट्टराई, चितवनबाट गिता पौडेल र काठमाण्डौबाट एमपी केयरलेस पोखरा आएका थिए ।

पोखरामा निरन्तर गजल लेख्दै र वाचन गर्दै आएका ईश्वरमणी अधिकारी, शिव पलाँस, अमित ढकाल ‘निर्जन’, प्रतिक्षा सस्मित र किसानको गजलहरुलाई पनि स्रोताले उत्तिकै रुचाए । विशेषगरि कवयत्रीको रुपमा चर्चा कमाईसकेकी सरस्वती प्रतिक्षालाई गजलमा पनि स्रोताले खुब साथ दिए । ‘मलाई गजल भनिरहँदा निकै लाज लागेको छ’ भन्दै गजलको शुरुवात गरेकी प्रतिक्षाले जब फ्लोरबाट वाहवाही पाईन्, त्यसपछि भने उनी पनि हौसिईन् । गजलमा पनि आफुलाई कवितामा जत्तिकै अरुले रुचाएको छनक पाएपछि उनी मख्ख देखिईन् ।

गजल सन्ध्या पोखराले यस्तो खाले विशेष गजल वाचन कार्यक्रम आयोजना गरेको यो चौथो पटक हो । यसअघि रवी अटोमोबाईल्स र हटलाईन दैनिकसँगको सहकार्यमा संस्थाले कार्यक्रमको आयोजना गरेको थियो । ‘खासगरि गजलको संस्थागत विकासका लागि हामीले यो कार्यक्रमको अवधारणा ल्याएका हौँ ।’ गजल सन्ध्या पोखराका अध्यक्ष उदिपराज ढुंगानाले भने–‘र, हामी हाम्रो अवधारणामा सफल पनि भैरहेका छौँ ।’

पुराना गजलकारहरुलाई सम्मान र नयाँ गजलकारहरुलाई प्रोत्साहन गर्ने मञ्चको रुपमा पनि ‘विशेष गजल वाचन’ कार्यक्रम विकसित हुँदै गैरहेको ढुंगानाले बताए । त्यो सँगै पोखरा र अन्य जिल्लाका गजलकारहरुलाई एकै ठाऊँमा ल्याउने ‘पुल’को रुपमा पनि यसले काम गरिरहेको उनले जानकारी दिए ।

गजल सन्ध्या पोखराले नियमित रुपमा ‘गजल वाचन’ कार्यक्रम पनि गर्दै आएको छ । जुन श्रृंखलात्क रुपले भैरहेको छ । १ सय ४२ औँ गजल वाचन सकाईसकेको संस्था यतिबेला १ सय ४३ औँ गजल वाचनको तयारीमा जुटेको छ । त्यस्तै महिनाको हरेक तेस्रो शनिबार पर्यटकीय गाऊँहरुमा पुगेर संस्थाले ‘अक्षरयात्रा’ कार्यक्रम पनि गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: