प्रा.डा. त्रिरत्न मानन्धरलाई पोखरामा सम्मान

440
0
Share:

रञ्जन अधिकारी पोखरा, २९ फागुन । इतिहास र संस्कृति क्षेत्रका अनुसन्धानकर्ता प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर पोखरामा सम्मानित भएका छन् । यस्तै, चारदशक बढि समयसम्म त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयमा प्राध्यापन गरी निवृत्त भएका मानन्धर लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति समेत हुन् । उनी त्रिबिको मानविकी संकायका डिन समेत भएका थिए भने दर्जनौं विभागमा सदस्य तथा प्रमुख भईसकेको व्यक्ति हुन् ।

प्रा.डा. मानन्धर महेन्द्र विद्या भुषण, गोरखा दक्षिण बाहु तेस्रो, जनसेवा श्री तेस्रो लगायतका दर्जन जति अवार्डबाट विभूषित भईसकेका छन् । १५ बढि संघसंस्थाबाट सम्मानित मानन्धरले ईतिहास र संस्कृति सम्बन्धमा १८ पुस्तक प्रकाशित गरिसकेका छन् भने डेढ सय हाराहारीमा लेख विभिन्न राष्ट्रिय पत्रपत्रिकामा छापिएका छन् ।

राजनीतिशास्त्र सूर्यरत्न शाक्य प्रतिष्ठान, राजनीतिशास्त्र विभाग, पृथ्वीनारायण क्याम्पसले आफ्नो ११ औं साधारणसभाको अवसर पारी शुक्रबार पोखरामा सम्मान गरेको हो । क्याम्पसका भूगोल विभागका प्राध्यापक तथा प्रतिष्ठानका सल्लाहकार प्रा.डा. विश्व श्रेष्ठ संयोजक तथा समाजशास्त्र÷मानवशास्त्र विभागका प्राध्यापक डा. विश्वकल्याण पराजुली र राजनीतिशास्त्र विभागका सह–प्राध्यापक पद्यशरण रेग्मी सदस्य रहेको छनौट समितिले सिफारिस गरे अनुसार प्रतिष्ठानले मानन्धरलाई सम्मान गरेको हो ।

सम्मान ग्रहणपछि प्रा.डा. मानन्धरले पोखरामा सम्मानका लागि बोलाउँदा निकै हर्षित भएको सम्झँदै सबैलाई आभार व्यक्त गरे । सो अवसरमा उनले ईतिहास र राजनीति शास्त्रका विद्यार्थी र प्राध्यापकसामु नेपालको राजनीतिक इतिहासका आयामहरुका बारेमा प्रवचन पनि दिएका थिए । उनले अबको पुस्ताले ईतिहासलाई विगतको राजनीतिका रुपमा मात्रै बुझ्न नहुने उल्लेख गर्दै अब पुराना परिभाषा परिमार्जन गर्दै जानुपर्ने उल्लेख गरे ।

उनले ३० वर्ष अघि सम्मका घटनाको जिम्मा राजनीतिशास्त्री र त्यसअघिका घटनाका सम्बन्धमा इतिहासशास्त्रीले मात्रै वकालत गर्ने भन्ने मान्यता गलत रहेको भन्दै हरेक कालखण्डका घटनाबारेमा सोच्नुपर्ने उल्लेख गरे । आफ्नो नितान्त निजी विचार भन्दै प्राडा मानन्धरले मुलुकको राजनीतिमा सत्तापक्ष र विपक्षी दल अहिले राष्ट्र स्वार्थ भन्दा व्यक्ति, समूह र बढिमा दलगत स्वार्थभन्दा माथि उठ्न नसकेको बताए । ‘राज्य सञ्चालन बाई त पिपुल र अफ द पिपुल भयो तर फर द पिपल हुन सकेन’ –उनले भने– ‘राजनीतिक दलका नेताहरु राष्ट्र हितमा भन्दा आफूले हुने अनुसार हुन्छ कि हुन्न भन्दैमा पाँच सात वर्षसम्म सहमतिमा पुग्न सकेनन् ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिष्ठानका प्रमुख संरक्षक सूर्यरत्न शाक्यले ३२ वर्षे सेवाबाट निवृत्त हुनेबेलामा २०६० सालमा प्रतिष्ठान गठन गरिएको जनाउँदै यसले राजनीतिशास्त्र मूल विष्य लिई उत्कृष्ट अंक हासिल गरेका विद्यार्थीलाई हौसला र प्रोत्साहन मिलेको विश्वास व्यक्त गरे ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुखहरु डा. गणेशबहादुर गुरुङ, डा. दिलबहादुर क्षेत्री, सहायक क्याम्पस प्रमुख देवीलाल शर्मा, प्राध्यापक संघका तर्फबाट बेदनाथ शर्मा लगायतले सम्मानित व्यक्तित्व प्रा.डा. मानन्धरको व्यक्तित्वबाट आफूहरु प्रभावित भएको बताएका थिए । सो अवसरमा पृथ्वीनारायण क्याम्पसमा राजनीतिशास्त्र विभाग अन्तरगत सम्पन्न गरिने शोधहरुमध्ये प्रत्येक वर्ष एउटा उत्कृष्ट शोधपत्र छनौट गरी सम्मान गरिने निर्णय अनुसार ‘स्टेट अफ टुरिज्म सेक्युरिटी ईन पोखरा’ विषयमा शोधपत्र तयार गर्ने अरुणकुमार शर्मालाई छनौट गरिएको पनि जानकारी गराईयो । यस्तै, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिदैं आएकोमा यस वर्ष दीपक पराजुलीले पाउने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा. उमानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष तारानाथ बरालले स्वागत तथा राजनीति शास्त्र विभागका सहप्राध्यापक पद्मशरण रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए । साधारणसभाका अवसरमा सचिव भीमनाथ बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रस्तावित कार्यक्रमहरु बारेमा पनि जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: