
कास्की २९ फागुन । कास्कीको ल्वाङघलेललाई पूर्ण साक्षर गाबिस घोषणा गरिएको छ । शुक्रवार आयोजित कार्यक्रमका बिच पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बैंकुण्ठ अर्यालले ल्वाङघलेललाई साक्षरता गाबिस घोषणा गरेका हुन् ।
यो संगै ल्वाङघलेल कास्कीको १७ औं पूर्ण साक्षर गाबिस हुन सफल भएको छ । यसअघि १६ गाबिस र पोखरा उपमहानगरपालिकाको वडा नम्बर १६ बाटुलेचौर पूर्ण साक्षर घोषणा भएका थिए । साक्षरता अभियानको क्रममा गाबिसका चार सय २२ निरक्षरलाई साक्षर बनाएपछि पूर्ण साक्षर घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै क्षेत्रीय शिक्षा निर्देशक अर्यालले साक्षर नेपाल अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे । उनले साक्षरता घोषणा संगै यसको सफल कार्यन्वयनको लागि निरन्तर सिकाईको विकास सहित आयआर्जनमा लाग्नुपर्नेमा जोड दिएका छन् । शिक्षाबाटै देशको विकास हुने र देश साक्षर हुन घर परिवारबाटै सुरुवात गर्नुपर्ने अर्यालले बताए ।
यसअघि कास्कीको जिल्ला शिक्षा अधिकारीको रुपमा काम गरिसकेका उनले यहाको शैक्षिक अबस्था र आबश्यकताको बारेमा जानकारी भएकाले क्षेत्रमा रहेर पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बाकी निरक्षरलाई साक्षर बनाउने जिम्मा नवसाक्षरहरुको काधमा आएको अर्यालले बताए ।
क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक गोविन्द पोखरेलले नव साक्षरलाई शिपमुलक शिक्षा प्रदान गर्नुपर्ने खाचो औल्याए । बाकी रहेका निरक्षरलाई साक्षर बनाउदै पूर्ण साक्षर घोषणालाई कार्यन्वयनमा लैजान उनले आग्रह गरे ।
कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगन सिंह थापाले कास्कीलाई आगामी बैशाख १५ भित्र पूर्ण साक्षर गाबिस घोषणा गर्ने अभियानलाई तिब्र पारिएको जानकारी दिए । उनले बाकी रहेका गाबिस र नगरपालिकाका वडाहरु पनि सक्षरता घोषणाको लागि तयारी अबस्थामा रहेको बताए । उनका अनुसार आगामी चैत्र १ गते धम्पुस र २ गते ढिकुरपोखरी गाविसलाई पूर्ण साक्षर घोषणा गर्ने तयारी छ । कास्कीका ११ हजार ६ सय ८२ निरक्षरलाई साक्षर बनाउने अभियान अन्तर्गत साक्षरता कक्षा सञ्चालन भैरहेको थापाले बताए ।
कार्यक्रममा बोल्दै स्थानिय राजनितिक दलका नेताहरुले साक्षरता घोषणा सँगै कार्यन्वयनमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेस ल्वाङघलेलका सोम बहादुर गुरुङ, एमालेका गौरी प्रसाद दाहाल, एमाओबादीका ओम प्रसाद गुरुङ, राप्रपा नेपालका बिजुली प्रसाद गुरुङले साक्षरताको महत्व दर्शाउदै अभियान सफल भएकोमा सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा ल्वाङघलेल सामुदायिक अध्ययन केन्द्रकी डम्बर कुमारी गुरुङ, सामुदायिक अध्ययन केन्द्र रिभानका शिव भूषाल, हेम्जाकी गंगा त्रिपाठी अन्नपूर्ण प्राविका अध्यक्ष पूर्ण भद्र ढुङ्गाना, तारे बराह स्कुलका प्रध्यानाध्यापक दुर्गा गुरुङ, बराह उच्च माविका नर बहादुर गुरुङ लगायतले बोलेका थिए ।
घोषणा समारोहमा साक्षरता अभियानको क्रममा सहयोग गर्ने बिभिन्न ब्यक्ति तथा संघ संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो । साथै बिभिन्न बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । गौरीशंकर मणिलाल उच्च माविका प्रधानाध्यापक कुल प्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रम गाबिस सचिब गेदुराम ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कास्कीको ल्वाङघलेलमा एक उच्च मावि, चार निमाबि , पाँच प्राबि र एक बोर्डिङ स्कुल गरी ११ बिद्यालय सञ्चालनमा छन् ।
