
बिग न्युज पोखरा, ३० फागुन । गुण्डागर्दी विरुद्ध खनिँदै गएको कास्की प्रहरीको नेतृत्व आफ्नै संस्थाभित्र पनि ‘आचरण सुधार’ गर्नुपर्ने सवालमा पनि कडा बनेको छ । मादक पदार्थ सेवन गरि बिना कारण सर्वसाधारणमाथि कुटपिट गरेको आरोपमा उसले प्रहरी जवानलाई निलम्बन गरेको छ ।
पछिल्लो समय पोखरामा एसपी बनेर आएका हरिबहादुर पाल ओजन डिस्कोका संचालक महेन्द्र भोटेसँगै अरु १४ जनालाई ‘प्रहरी कुटेको’ आरोपमा मुद्दा चलाएर चर्चासँगै विवादमा पनि छन् । उनै एसपीलाई संस्थाभित्रै ‘आचरण सुधार’ गराउन नसकेको आरोप लागिरहँदा मापसे गरि सर्वसाधारण कुटेको निहुँमा प्रहरी जवानलाई निलम्बन गरेका हुन् । निलम्बित हुने प्रहरी जवान रामबजारमा दरबन्दी भई कार्यरत काजीराम रेग्मी हुन् ।
प्रहरी प्रवक्ता केदार रजौरेले दिएको जानकारी अनुसार रेग्मीले शितलादेबी स्थित बिजी अस्पताल अगाडि रक्सी सेवन गरेर स्थानिय मनबहादुर अस्लामीलाई कुटपिट गरेका थिए । शुक्रबार साँझ रेग्मीले विनाकारण सर्वसाधारण कुटेको खबर मिडियामा फैलिएसँगै एसपी पाललाई ‘संस्थाभित्रै आचरण सुधार ल्याउन नसकेको’ भन्ने आरोप लागेको थियो ।
‘जनमानसमा नकारात्मक असर पर्ने भएकोले प्रहरी जवानलाई छानविन प्रकृया पुरा नहुन्जेल निलम्बन गरिएको हो ।’ कास्की प्रहरीका प्रमुख एसपी पालले भने–‘संस्था भित्र र बाहिर हुने कानुन विपरित कुरालाई नियन्त्रण गर्न म सँधै तयार छु ।’
प्रहरी जवान निलम्बन सँगै ड्युटी मै रहने प्रहरीहरु आफैँ मादक पदार्थ सेवन गरेर बस्ने गरेको रहस्य पनि पर्दाफास भएको छ । प्रहरीलाई ‘आफैँ मापसे गरेर’ सवारी चालकहरुको ‘मापसे’ चेक गर्ने गरेको आरोप पहिल्यै देखि लाग्दै आएको हो । यद्यपी अहिलेसम्म कास्की प्रहरीले यस्तो नहुने बताउँदै आएको थियो ।
त्यो सँगै ‘मुस्कान सहितको प्रहरी सेवा’ पनि पुर्ण रुपमा लागु हुन सकेको छैन । कास्कीमा प्रहरीहरुले चेकिङको क्रममा अपशब्द बोल्ने गरेको गुनासो सर्वसाधारणहरुले गर्ने गर्छन् । संस्थागत आचरण सुधारका लागि कास्की प्रहरीले यी सबै कुराहरुमा कडाई गर्ने प्रहरी प्रवक्ता केदार रजौरे बताउँछन् ।
