चैत २३ गतेदेखि हेमजामा ‘आलु महोत्सव’

Share:

पोखरा, २ चैत । आलु उत्पादनमा प्रख्यात कास्कीको हेमजामा चैत २३ गतेदेखि ‘आलु महोत्सव’ हुने भएको छ । विष्णु पादुका क्लबको आयोजनामा हुँदै आएको ‘आलु महोत्सव’को यो छैठौँ सँस्करण हो । आयोजकले महोत्सवको तयारी तिव्र गतिमा अगाडि बढेको बताएको छ । २३ गतेदेखि शुरु हुने महोत्सव २९ गतेसम्म चल्नेछ ।

स्थानिय कृषि उत्पादनको बजारिकरणसँगै हेमजाको पर्यटकिय संभावनाको प्रचारप्रसार गर्नका लागि महोत्सवको आयोजना गरेको आयोजकले बताएको छ । ‘तयारीलाई हामीले विभिन्न समिति उपसमितिहरु गठन गरेर तिव्र पारिरहेका छौँ ।’ आयोजक विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीले भने–‘यो पटकको आलु महोत्सव विशेष हुने पक्का छ ।’

महोत्सवमा ५० वटा व्यवसायिक स्टल र ३० वटा कृषि प्रदर्शनी स्टल रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आलुको ठुलो पहाड, विभिन्न १२ थरिका परिकार, साँस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा नृत्यसँगै सुन्तला प्रदर्शनी पनि दर्शकहरुका लागि आकर्षण बन्ने उसले बताएको छ । त्यो सँगै हेमजामा हाल संचालनमा रहेका विभिन्न साहसिक खेलहरु सेती नदी ¥याफ्टिङ, जीपलाईन फ्लायर, बन्जी जम्प, प्याराग्लाईडिङतर्फ पनि दर्शकलाई आकर्षित गर्न महोत्सवस्थलमै टिकटको व्यवस्था गरेको छ ।

हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा चिनाउनुका साथै उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने महोत्सवको लक्ष्य छ । साथै क्लबले हेमजामा आलु भण्डारणका लागि ‘कोल्ड स्टोर्स’ निर्माण गर्ने लक्ष्य पनि राखेको छ । महोत्सवबाट उठेको नाफा रकम हेमजाकै कृषि क्षेत्रमा लगानी गरिने क्लबले जनाएको छ ।

आयोजकले महोत्सवको लागि ३२ लाख ३५ हजार रुपैयाँ खर्च हुने र ३३ लाख ३५ हजार रुपैयाँ आम्दानी हुने अनुमान लगाएको छ । कुल १ हजार ९ सय ७१ हेक्टर क्षेत्रफल रहेको हेमजामा ६ सय ५० हेक्टर जमिनमा आलु खेती हुँदै आएको छ । जिल्ला कृषिका अनुसार हेमजामा हरेक वर्ष करिब १३ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुँदै आएको छ । त्यो सँगै काउली, गोलभेँडा, च्याऊ, बन्दा जस्ता तरकारी उत्पादनमा पनि हेमजा चर्चित छ ।

कमेन्ट गर्नुहोस्
Share: