
काठमाडौं, चैत्र २ / नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ज्याक स्टेफानोवस्कीले मंगलबार भारतविरुद्ध दशरथ रंगशालामा हुने विश्वकप छनोटको दोस्रो लेगको खेल नेपालकै पक्षमा हुने ठोकुवा गरेका छन् ।
खेलपूर्वको पत्रकार सम्मेलनमा बोल्दै स्टेफानोवस्कीले भारतको गुवाहाटीमा भएको पहिलो लेगको खेलमा आफ्नो रणनीति असफल भएको भन्दै यसपटक भने खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिए ।
गत बिहीबार भएको पहिलो लेगको खेल नेपालले २–० ले गुमाएको थियो । नेपालले विश्वकप छनोट तथा सन् २०१९ को एसिया कपको दोस्रो चरण प्रवेश गर्नका लागि दोस्रो लेगमा भारतलाई कम्तीमा ३ गोलको अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।
यता, १४ वर्षअघि नेपालको प्रशिक्षण सम्हालिसकेका भारतीय प्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताएका छन् ।
सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई रजत जिताएका स्टेफेनले नेपाली खेलाडीहरुलाई ‘बाघ’को संज्ञा दिँदै सजिलै आत्मसमपर्ण नगर्नेमा आफू विश्वस्त रहेको सुनाए ।
नेपाली भनेका बाघ हुन् आत्मसमर्पण गर्दैनन् : भारतीय फुटबल प्रशिक्षक
भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले पहिलो लेगमा २–० ले अग्रता लिए पनि आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभएको बताएका छन्।
सोमबार राजधानीमा आयोजित ‘प्रि म्याच प्रेस कन्फरेन्स’मा मुख्य प्रशिक्षक कन्स्टान्टिनले भने, “नेपाली भनेका बाघ हुन्, आत्मसमर्पण गर्दैनन् ।” सन् १९९९ मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाललाई रजत पदक दिलाउँदाका प्रशिक्षक पनि रहेका बेलायती नागरिक कन्स्टान्टिनले कूटनीतिक पारामा भने, “तर त्यो बेलाको नेपाली टोली र अहिलेको नेपाली टोलीमा भने तुलना गर्न मिल्दैन ।”
खेल दिउँसो साढे ३ बजेदेखि हुँदैछ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले टिकट मूल्य साधारण पारापिटतर्फ सात सय र भीआइपीतर्फ १५ सय रुपैयाँ तोकेको छ ।
