सरस्वतीको ‘आमा’ गीतमा ७३ जना आमाहरु, भिडियोका लागि चार लाख रुपैयाँ खर्च

Share:

७ चैत | ‘आमा’ सबैकि जन्मदाता हुन्। ‘आमा’ यो दुई अक्षरले बनेको शब्दमा कति माधुर्यता लुकेको छ स्नेहको सागर लुकेको छ । र, आमाको माया कुनै पनि प्रकृतिको ‘माया’सँग तुलना गर्न मिल्दैन । कारण, आमाको माया अतुलनीय हुन्छ ।

यस्तै भाव बोकेको गीत लेखिन् संचारकर्मी सरस्वती गुरुङले । आमाको मायाको वर्णन गर्दै उनले लेखेको गीतलाई संगीत दिए, जयकुमारले । र, त्यसमा स्वर भरिन् गायिका रिमा गुरुङ ‘होडा’ले । गीतकार सरस्वतीलाई यतिले मात्र पुगेन । ‘आमा’ बोलको गीतलाई भिडियोमा उतार्ने उनको चाहना रह्यो ।

भिडियोमा त उतार्ने । तर हाल निर्माण भैरहेका म्यूजिक भिडियो जसरी सामान्य तरिकाले ‘आमा’ गीतको भिडियो बनाउने की अलिक फरक तरिकाले । भलिबल खेलाडि तथा नायिका सिपोरा गुरुङले भिडियोको कन्सेप्टमा सरस्वतीलाई सघाईन् । र, उनै सिपोराको कन्सेप्टमा भिडियो छायाँकन भयो । भिडियोमा करिब चार लाख रुपैयाँ खर्च भएको सरस्वती बताउँछिन् ।

‘पैसा भन्दा पनि गुणस्तरमा ध्यान दिएका कारण केहि महँगो प¥यो ।’ सरस्वतीले भनिन्–‘एउटा ऐतिहासिक भिडियो बनेकोले मलाई निकै खुशि लागेको छ ।’ भिडियोलाई निर्देशक कृष्णकुमार गुरुङले निर्देशन गरेका छन् । गीतको भिडियो केहि दिनमै सार्वजनिक गर्ने तयारीका साथ सम्पादन टेबुलमा फुटेजहरु पुगेका छन् ।

‘आमा तिम्रै अंश हुँ म, तिमै ज्यानको टुक्रा हुँ, तिमै आशुँ पुछु आमा तिम्रै छेउमा रहुँ’ बोलको गीतलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्देशकले बताएका छन् । भिडियोमा व्यवसायिक कलाकारलाई छाडेर साँच्चिकैका आमाहरुलाई अभिनय गराईएको छ । सिपोरा गुरुङ, मञ्जु गुरुङ, प्रतिक्षा गुरुङ, सुनयना पालिखे, सरस्वती गुरुङसँगै ७३ जना महिलाहरु भिडियोमा फिचर भएका छन् ।

गीतमा नेवार, गुरुङ, बाहुन, क्षत्री, शेर्पा, थकाली, तामाङ, मगर, राई, थारु समुदायका आमाहरु आफ्नै पोशाकमा देखिएका छन् । आमाको मायासँगै जातिय सहिष्णुता पनि गीतको भावले बोक्ने भएकोले यी सब कुरा गर्न परेको निर्देशकको तर्क छ । राष्ट्रियताको भाव पनि गीतले बोकेको छ । राष्ट्रियता झल्काउने गरी राष्ट्रिय झण्डाको सेतो, रातो र निलो रङमा समेत विभिन्न पेशामा संलग्न आमाहरुको अभिनय छ ।

सरस्वतीको गीति एल्बम ‘आमा’को शिर्ष गीत आमा तिम्रै अंश हुँ’ बोलको गीतको छायाँकन सकिएसँगै उनी एल्बमको प्रचारमा पनि अगाडि बढेकी छन् । चाँडै नै एल्बम बजारमा आउने उनले बताईन् । एल्बममा १० वटा गीत समावेश गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: