
पोखरा, चैत्र ८ /नेवाः खल, कास्कीको आयोजनामा भएको यामाहा मिस नेवाः पोखरा नेपाल संवत ११३५ को उपाधी पोखरा खाल्टेमसिनाका आशा श्रेष्ठले जितेकी छिन । शनिबार पोखरामा सम्पन्न प्रतियोगितामा अन्य १६ प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेवा पोखराको ताज पहिरिएकी हुन ।
प्रमुख निर्णायक पुर्व महान्यायधिवक्ता राघवलाल बैद्यले नेपाली ग्रामिण परिबेशका कुनै एक महिला दाउराको भारी बोकी अगाडी आफ्नो सानो बच्चालाई दुध चुसाउदै हिंडदै गरेको देख्दा तिम्रो प्रतिक्रिया के हुन्छ र ति महिलालाई के भन्छौ भन्ने अन्तिम प्रश्नमा उत्कृष्ट ५ प्रतिस्पर्धी मध्य श्रेष्ठले सबैभन्दा उत्कृष्ठ एवम सान्र्दभिक उत्तर दिएर निर्णायकको मन जितेका थिए ।
मिस नेवाः पोखरा ११३५ का विजेता श्रेष्ठले ४० हजार नगदका साथै बिभिन्न गिफ्ट हयाम्पर प्राप्त गरेकी छिन् । यसै गरि मोहोरियाटोल पोखराकी श्रीया बुद्धाचार्यले बेस्ट टयालेण्टको टाइटल अर्वाड सहित फस्ट रनरअप बन्न सफल भएकी छिन । उनले नगद २५ हजार तथा आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेकी छिन । नदिपुरका सुस्मिता प्रधान भ्युवर्स च्वाइसको टाइटल अवार्ड सहित सेकेण्ड रनरअप बन्न सफल भएकी छिन उनले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गरेकी छिन । यसैगरि बेष्ट कम्प्लेक्शन पृथ्बीचोकका सगुन श्रेष्ठ, बेष्ट स्माइल भिमसेनटोलका सारा बजिमय, बेष्ट पर्सनालिटी र बेष्ट फोटोजेनिक बगालेटोलका श्रीया श्रेष्ठ बनेकी छिन् । प्रत्यक टाइटल अवार्ड बिजेताले जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्राप्त गरेका छन् ।
कार्यक्रममा पुर्व महान्याधिवक्ता राघवलाल बैद्य, नेपाल सम्बत ११३२का मिस नेवा पोखरा रस्मिता नकर्मी, मिस नेपाल इन्टरनेशनल सोनी राजभण्डारी, चितवन उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष उत्तमलाल चुके, नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष धनन्जय श्रेष्ठ, त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक जनपुकार मुनमकर्मी र नेवा खल कास्कीका पुर्व अध्यक्ष प्रकाशमान पालिखे निर्णायकका रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले यो सौन्दर्य प्रतियोगिता मात्रै नभएर नेवारी सभ्यता र संस्कारलाई युवा पुस्तामा पुर्याएर उनीहरुलाई भाषा संस्कार र संस्कृति हस्तान्तरण गर्ने अभियान पनि हो भन्नुभयो । उहाँले मिस नेवा हुने श्रेष्ठलाई बधाई दिँदै नेवारी संस्कृति र संस्कारको रोल मोडल बनेकोले यसको प्रवद्र्धन गर्नका लागि थप जिम्मेवारी थपिएकोले सोही अनुसार गर्न आग्रह गर्नुभयो । संस्कृतिबिद तिर्थ श्रेष्ठले नेवार एक जाती मात्रै होइन सभ्यता पनि हो भन्दै नेपालको परिचय संग यसको भाषिक, मौलिक संस्कृति र बास्तुकलाले बिशेष महत्व बोकेके कुरामा जोड दिनुभयो । कार्यक्रममा मिस नेवा पोखराका संयोजक बिक्रम उदास, पुर्व मिस नेवा ११३४ रुची श्रेष्ठ, निर्णायक मण्डलका संयोजक निरन्जन श्रेष्ठ, प्रचार प्रसार संयोजक सन्जय मल्ल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सुस्मिता श्रेष्ठ र सुप्रिमा श्रेष्ठले गरेका थिए ।
नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखरामा ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठले मिस नेवा पोखराको ताज पहिरन सफल भएका थिए ।
