नेपाल र श्रीलंकाका स्रष्टाको नेपाःश्री सार्वजनिक गीतसंगीतले दुई राष्ट्रबीचको सम्बन्ध झनै प्रगाढः राजदुत

Share:

रञ्जन अधिकारी पोखरा, १४ चैत । नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यू.एम. सेनेभिराथ्ना पोखरामा शनिबार सांगीतिक तथा वाङ्मयिक क्षेत्रका व्यक्तित्वबीच पोखराको बयान गर्दै कम्ता हर्षित देखिएनन् । पोखराको फेवाताल र तालमा छायाँ देखिने माछापुच्छ«े लगायतका हिमश्रृंखलाको वर्णन नै गर्न नसक्ने भन्दै उनले त्यसैले त पोखरामा हजारौं पर्यटक ओहिरिने गरेको अनुभव सुनाए ।

नेपाल र श्रीलंकाबीचको मैत्रीपूर्ण सम्बन्धमा बुद्ध जन्मभुमि लुम्बिनी महत्वपूर्ण बताईरहँदा उनले अब दुई राष्ट्रबीच धर्मसंस्कारसँगसँगै संगीतको साईनो पनि कसिँदै गएको बताए । उनलाई पोखराको वर्णन गर्ने अवसर भने गिती एल्बम लोकार्पण कार्यक्रममा मिलेको हो । सार्क राष्ट्रका दुई श्रष्टा नेपालका गीतकार दुर्गाबहादुर शाह बाबाको रचनामा श्रीलंकका प्रसिद्ध गायक तथा संगतिकार डा. प्रवाथ निलन्त पेइरिसको स्वर र संगीतले भरिएको नेपाली आधुनिक गीति एल्बम नेपाःश्री को लोकार्पण गर्दै राजदुत सेनेभिराथ्नाले सुन्दर देशको अति सुन्दर भूमि पोखरा आउन पाउँदा औधी खुशी भएको प्रतिक्रिया दिए ।

आयोजक सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपाल, पोखराका तर्फबाट लगाईदिएको ढाका टोपीमा ठाँटिदै राजदुत सेनेभिराथ्नाले संगीत विश्वव्यापी हुने भएकाले कुनै मुलुकको सीमारेखाले नछेकिने बताए । ‘संगीतले सबैलाई एक बनाएको छ । नेपाल र श्रीलंकाबीचको पुरानो सम्बन्धलाई संगीतकै माध्यमबाट झनै प्रगाढ बनाएको छ’– उनले भने– ‘नेपाली गीत र श्रीलंकाली संगीत, आवाजले मलाई छोयो । यसले नेपाली र श्रीलंकाली सबैको मन छुनेछ ।’

Nepa Shree

संस्कृतिकर्मी एवं अग्रज चलचित्र निर्देशक चेतन कार्कीले संगीत विश्वभाषा भएको उल्लेख गर्दै जुन व्यक्ति साहित्य, संगीत र कलाविहीन हुन्छ, ति व्यक्ति सिंग पुच्छर नभएका जनावर समान हुने उल्लेख गरे । गीतकार बाबाकै कारण नेपाल र श्रीलंकाबीचका सुसंयोग हुने साह्रै राम्रो काम भएको भन्दै उनले प्रशंसा पनि गरे ।

साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश शायमीले दशकौं अघिदेखि नै चलचित्र क्षेत्रमा सहकार्य भएको र अहिले गीतसंगीतले पनि दुई देशको सम्बन्धले थप उचाईं लिएको बताए । उनले पछिल्लो समय नेपाललाई क्रिकेटमार्फत विश्वमाझ चिनाउन श्रीलंकाकै प्रशिक्षक पुबुदु दशानायकेको हात रहेको भन्दै नमन व्यक्त गरे । प्राज्ञ हरिदेवी कोईरालाले नेपाली मन र श्रीलंकाली मनलाई बाँध्ने काम गरेकोमा धन्यवाद दिँदै नेपालीहरु नतमस्तक हुनुपर्ने बताईन् । नेपाल राष्ट्र बैंक, पोखराकी निर्देशक निलम तिम्सेनाले बैंकिङ क्षेत्रमा काम गरेर पनि समय व्यवस्थापन गर्दै यति धेरै व्यक्तिको मन जित्ने गरेर गीत, साहित्य क्षेत्रमा चर्चित भईसकेकोमा दंग परेको उल्लेख गरिन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले दुई देशबीचको सम्बन्ध प्रगाढ भए विकासका लागि पनि थप हातेमालो हुने विश्वास व्यक्त गरे ।

स्रष्टा परिचय दिँदै युवा साहित्यकार असफल गौतमले घमण्डले नछोएका, शालीन व्यक्तित्व, सकारात्मक सोचका धनी गीतकार बाबाको सकारात्मक पक्षको चर्चा गरेरै नसकिने बताए । विकासप्रेमी साहित्यका बाबाकै कारण विभिन्न ठाउँमा विकास समेत भएको उल्लेख गर्दै उनले २०४० सालदेखि अनवरत रुपमा साहित्य क्षेत्रमा सक्रिय रहेकै कारण आज विशिष्ट स्थानमा पुगेको जनाए ।

वि.सं. २०६५ सालमा काठमाडौंको गुरुकुलमा र २०६८ सालमा पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आफ्नो एकल वाचन गरि छुट्टै पहिचान बनाउन सफल बाबालाई श्रीलंका र कम्बोडियामा समेत एकल वाचन र गायन गर्ने अवसर मिलेको थियो । यस प्रसंगलाई कोट्याउँदै स्रष्टा बाबाले अंग्रेजी भाषामा अनुवाद गरिएका आफ्ना सिर्जना वाचन गरेर आम श्रीलंकाली र कम्बोडियन वाङ्मयप्रेमीको मन जित्न सकेकाले नै यो उपलब्धि हाँसिल भएको जनाए ।

उनका अनुसार श्रीलंकन सेन्टर बैंकका डाइरेक्टर राशीको सहयोग र २०६५ सालमा थाइल्याण्ड जाँदा मित्रता जोडिएका श्रीलंकाका अनन्य मित्र मुथिया हरिरहनको संयोजकत्वमा गीतकार बाबाको श्रीलंका र कम्बोडियामा तेस्रो र चौथो एकल वाचन कार्यक्रम सम्पन्न भएको थियो । सोही समारोहमा दर्शकदीर्धामा रहेका डा. प्रबाथ निलन्तले बाबाका गीतमा संगीत तथा स्वर भर्ने वचनवद्धता व्यक्त गरेका थिए ।

आठवटा गीत समावेश रहेको उक्त एल्बमको बजार प्रवद्धनका लागि सम्पूर्ण जिम्मा म्यूजिक नेपालले लिएको छ । एल्बममा युगल गीतमा नेपाली गायिका माया गुरुङको स्वर मिसिएको छ ।

सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पद्मराज ढकाल र संचालन महासचिव अभिमन्यु विक्रम राणाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: