
पोखरा २४ चैत्र । एकिकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाले गरेको बन्दको कारण पोखरा सहित देशभरको जनजिबन बिहानैदेखि प्रभाबित भएको छ । तीन दिने आमहड्तालको पहिलो दिन आज बिहानैदेखि बजार, पसल कलकारखाना, शिक्षण संस्था ठप्प छ ।
सडक सुनसान छ । यातायातको साधन नचल्दा आवतजावतमा समस्या भएको छ । बन्दकर्ताहरु बिहानैदेखि सडकमा निस्किएका छन् । पोखराको मुख्य चोकहरुमा बन्दकर्ताहरु तैनाथ छन् ।
बन्दमा उत्रेका एकिकृत माओबादी नेतृत्वको ३० दलिय मोर्चाका कार्यकर्ताले कास्कीमा बिहानै चार ओटा सवारीमा तोडफोड गरेका छन् । लेखनाथमा बिहान साढे ४ बजेनै एउटा रात्री बस र ट्रकमा तोडफोड भएको कास्की प्रहरीले जनाएको छ । काकडभिट्टाबाट पोखरा तर्फ आउदै गरेको ना ४ ख ७६८८ नम्बरको रात्री बस र तनहुबाट पोखरा आउदै गरेको ना ४ ख ३३१ नम्बरको ट्रकमा तोडफोड भएको छ ।
त्यस्तै बिरगंजबाट कृषी सामाग्री सहित पोखरा आउदै गरेको ना ४ ख २०९० नम्बरको ट्रकमा पनि तोडफोड भएको छ । बन्दकर्ताले बिहान पौने सात बजे पोखराको पृथ्बीचोकमा अर्को रात्री बसमा पनि तोडफोड गरेका छन् । काकडभिट्टाबाट बाग्लुङ जाने क्रममा रहेको ना ४ ख ८६८८ नम्बरको रात्रीबसमा तोडफोड गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रात्रीबसमा तोडफोडमा संलग्न बन्दकर्ताहरु सन्तोस सोनाम, बम बहादुर कार्की, सुदाना राई र अशोकजंग प्रसाईलाई पृथ्बीचोकबाट नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
बन्दकर्ताले बिहानै काठमाडौंको कोटेश्वर र बालकुमारीमा सवारी साधनमा आगजनी गरेका छन् । ललितपुरको बालकुमारीमा पार्किङ गरेर राखिरहेको बा १ ज १८७७ नम्बरको ट्याक्सीमा पेट्रोल छर्केर बन्द कर्ताले आगजनी गरेका हुन् । उनीहरु ट्याक्सीमा चढ्न यात्रु बनेर आएको र भनेको ठाउमा नजाँदा पेट्रोल छर्केर आगजनी गरेका हुन् ।
यस्तै विमानस्थलबाट आएको एक यात्रुबसमा पेट्रोल छर्केर बन्दकर्ताले क्षति पुर्याएका छन् भने विजुलीबजारमा टंयाक्करमाथि तोडफोड गरेका छन् ।
यसैगरी, विजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बोकेको भ्यान तोडफोड गरेका छन् । प्रहरीले भ्यान चालकको सहयोगमा दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको छ ।
त्यस्तै, एकीकृत माओवादीका काठमाडौं जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, एमाओवादी काठमाडौं सचिव रेणु दाहाल, क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले विजुलीबजार पुलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई तीनकुने प्रहरीमा राखिएको छ ।
त्यस्तै, बालकुमारीमा पनि आन्दोलनकारीहरुले एउटा ट्याक्सी जलाएका छन् । जलाइएको ट्याक्सी प्रहरीेले लैजान खोज्दा स्थानीयले क्षतिपूतिर्तनतिरी लैजान नपाइने भन्दै रोकेका छन् ।
भैरहवाको बरमैली टोलमा भारतीय नम्बर प्लेटको मोटरसाइकल आन्दोलनकारीले जलाएको छन् । यूपी ५६ जे २७०७ नम्बरको मोटरसाइकलमा आगजनी गरेर आन्दोलनकारी भागेको प्रहरीले जनाएको छ ।
