बन्दले जनजीवन प्रभावित, ठाउँ-ठाउँमा तोडफोड र अागजनी, ट्याक्सी जलाइदिए

311
0
Share:

२४ चैत्र, काठमाडौं / एमाओवादीको नेतृत्वमा आन्दोलनरत ३० दलीय मोर्चाले बालकुमारीमा आज बिहानै एउटा ट्याक्सी जलाइदिएको छन् भने पाल्पामा आठओटा मोटरसाइकल तोडफोड गरेका छन्। सहमतिको संविधान लेखनका लागि दबाब सिर्जना गर्ने जनाउँदै मोर्चाले आज नेपाल बन्दको घोषणा गरेको छ। बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

त्रिभुवन विमानस्थलमा आफन्तलाई पुर्‍याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेका थिए।

यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले बिहान ५: १५ बजे पेट्रोल छर्केर आगजनी गरेका हुन्। आगजनीबाट ट्याक्सी पूर्णरुपले क्षति भएपछि चालक बानियाँले अब आफूले परिवार कसरी पाल्ने भनेर हारगुहार गर्दै रोइरहेका छन्।

पाल्पा तानसेन मेहलधारा र धुर्वघाट क्षेत्रमा बिहानैदेखि बाटो कुरेका बन्दकर्ताले मोटरसाइकल रोकेर तोडफोड गरेका हुन्। लु ७ प ३३७१, लु १४ प ५१४४ र बा ५५ प ८०५९ नम्बरका मोटरसाइकलमा बढी क्षति भएको छ।त्यस्तै,बन्दकर्ताले जिल्ला विकास समितिको हलमा चलेको गाविस सचिवहरूको तालिममा पुगेर हल्ला खल्ला गरेर तालिम स्थगित गराएका छन्। तानसेन बजारमा छरिएर बन्द गराउँदै हिडेका एमाअोवादी कार्यकर्ताले भित्तामा पोस्टर र पर्चा पनि टाँस्दै छन्। बन्दले पाल्पा पूर्ण प्रभावित भएको छ।

कमेन्ट गर्नुहोस्
Share: