
माधब भुसाल
पोखरा । ‘पढ्ने बेला झण्डा बोकेर हिड्छन् यि केटाहरु, सोध्ने हो भने किन बन्द गरेको थाहा छैन होला’। कपाल, दाह्री जुँगा सेतै फुलेका दुइ जना बुढाहरु पोखराको न्युरोड स्थित भाटभटेनी भन्दा २ घर तल रहेको घरको पेटीमा बसेर कुरा गर्दै थिए ।
एउटा बुढाले कुरा गर्दागर्दै अर्काले भने – ‘त्यही त आजकलका केटाहरुलाइ झण्डा बोकायो हिड्यो, केही ताली सालीम दिनु नि बरु, काम गरेर खान सकिाउनु छैन, बन्द गर्न सकिाउछन् ’। सडकमा भर्खरका ठिटाहरु हातमा झण्डा र लाठी लिएर हिडेको हेर्दै थिए ति बुढाहरु । एनेकपा माओबादी लगायतका ६ दलले गरेको आम हड्तालको प्रभाव मंगलबार पोखरामा पनि बिहानै देखी पर्याे ।
घमाइलो मौसम भएपनि हिमाल त्यती स्पष्ट देखीदैनथ्यो । अरु दिनभन्दा बजारमा चहलपहल कम थियो । एम्बुलेन्स,प्रहरी, खानेपानी, पर्यटक बोक्ने गाडी र केही पत्रकारका सवारीहरु फाट्टफुट्ट चलिरहेका थिए । सडकमा केटाकेटीहरु निर्वाधरुपमा खेलीरहेका थिए । ‘औए बलिङ गर्न,म पारस खड्काको जस्तो सट हान्छु’ एक बालक क्रिकेट खेल्दै गर्दा आफ्नो साथीलाइ बलिङ गर्न अपिल गर्दै थिए ।
अरु दिन ट्राफीक देखीने पृथ्वी चोकको बिच भागमा अलि उमेर खाएका केही ब्यक्तीहरु देखिन्थे ।बन्द सफल पार्नका लागी बसेका कार्यकर्ता थिए तिनीहरु । सँगै ठुलो एउटा स्पीकरमा कोइ बेला क्रान्तिका गित बज्थे त कोइबेला देशभक्तीका । त्यही कर्यकर्ताहरु बिहानै देखी फरक फरक गित बजाएर बसिरहेका थिए । पसलहरु बन्द भएकाले पनि पसल अघिका खाली पेटीहरुमा बिभिन्न उमेर समुहका ब्यक्तिहरु बस्दै आ आफ्नो सुरमा गफिएका थिए ।
त्यही बिचमा दुइ युवाहरु देशको चिन्ता पोख्दै थिए एकअर्कासँग । ‘नेपालमा नेताहरु नै काम नलाग्ने के यार, न संबिधान बनाउछन् न देश बिकास गर्न तर्फ लाग्छन्, खाली एक अर्का सँग झगडा गर्यो बस्यो’ । यती भन्न नभ्याउदै अर्कोले त्यसैमा थप्यो ‘त्यही त भन्या, यस्तै हो भने हाम्रो पालामा पनि संबिधान बन्ला जस्तो छैन’ ।
