
रञ्जन अधिकारी पोखरा, २६ चैत / अहिलेको परिवर्तन २०६२÷०६३ को दोस्रो जनआन्दोलनबाटै सम्भव भएको हो । तर नेपाली जनता परिवर्तनका लागि त्यसबेला जे सोचेर आन्दोलनमा होमिए त्यस अनुसारको काम राजनीतिक दलका नेताहरुबाट भएका छैन । प्राप्त उपलब्धि संस्थागत गर्न नसकिरहेको अवस्था छ । जनआन्दोलनमा दर्जनौं सहिद भए, हजारौं घाईते भए । नेपालका ठूला राजनीतिक दल र तिनका शीर्ष नेताहरु जिम्मेवार नबनेकै कारण सहिदका सपनाहरु पुरा हुन सकेका छैनन्। दुई पटकसम्म संविधानसभा निर्वाचन भयो, संविधान बन्ने छाँटकाँट छैन । संविधानकै नाममा अरबौं खर्च भईसक्यो, विकास निर्माण कार्य सन्तोषजनक छैन तर नेताहरु अझै जनताप्रति ईमान्दार बन्न सकिरहेका छैनन् ।
यस्तो अवस्थाको साक्षी बन्नुपर्दा जनआन्दोलनका सहिद परिवार तथा घाईतेहरुको चहराईरहेको मनमा आगोमाथि घिऊ थपे जस्तो भएको छ । २०६२ चैत २६ मा पोखरा महेन्द्रपुलमा भिमसेन दाहाल सेनाको गोलीबाट मारिएपछि जनआन्दोलन २ उत्कर्षमा पुग्यो । मुलुकका जिल्ला जिल्लामा नागरिकहरु सडकमा उर्लिए, अन्ततः राजा ज्ञानेन्द्रले घुँडा टेके र २४० वर्ष ईतिहास बोकेको राजतन्त्र ढल्यो ।
जनआन्दोलन २ का पहिलो सहिद भिमसेन दाहाल पत्नी सविता पौडेल (दाहाल) शहीदहरुको सपना पूरा गर्न अझै ढिला नगर्न सुझाव दिन्छिन् । सहिद भिमसेन दाहालको नवौं स्मृतिमा विहिवार पोखरामा आयोजना भएको श्रद्धान्जली सभामा बोल्दै उनले हालै बैधानिक रुप पाएको प्रतिष्ठानले अब विभिन्न कार्यहरु गरेर झक्झकाउने काम गर्ने बताईन् ।
जनआन्दोलनकी घाईते विजया सुवेदीले जे सोचेर आन्दोलनमा होमियो, त्यो अनुसार नहुँदा त्यसबेलाको घाउँ भन्दा मन बढि पाक्ने गरेको गुनासो गरिन् । उनले दलहरु सत्ता र कुर्सीकै हानथापमा लाग्दा सबै नेपालीहरुको भावनामाथि तुषारापात गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।
भिमसेनचोक स्थित शालिकमा माल्यार्पण गरेपछि आयोजित सभामा बोल्दै पोखरेलीहरुले शहिद परिवारको भावना कदर हुने गरी दलहरुले आ–आफ्नो घमण्ड त्यागेर जनभावना अनुसार छिटो संविधान जारी गर्न आग्रह गरे । वेपत्ता तथा घाईते परिवारको भावना समेत समेट्ने गरी संविधान जारी गरी देशलाई अनिर्णयको बन्दीबाट मुक्त गराउन समेत जोडदार माग गरे ।
प्रतिष्ठानका सल्लाहकार एवं मानव अधिकारकर्मी नेता टेकनाथ बरालले शहिदको भावना नबुझ्ने नेताहरुलाई शहिदको रगत र पसिनाले पोल्ने बताए । सल्लाहकार एवं एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले अब आन्दोलनको जरुरत छैन भनिरहँदा जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्नुपर्ने आवश्यकतामा जोड दिए । सल्लाहकार एवंम कागेेंस नेता सोभियतबहादुर अधिकारीले कास्कीका सभासदले भिमसेन दाहाल सहितका शहिदको उच्च कदर हुने गरी कार्य गर्न आग्रह गरे ।
नेकपा एमाले कास्कीका नेताहरु श्रीनाथ बराल, मानबहादुर जिसी, तेजनारायण अधिकारीले कास्कीबाट संविधानसभामा रहेका १२ जना सभासदले कास्कीमा अत्याधुनिक शहिद पार्क निमार्ण गर्न योगदान दिनुपर्ने बताए । सल्लाहकार एवं एमाओवादी नेता विश्वप्रकाश लामिछानेले पश्चिमाञ्चलका शहिदलाइ समेट्ने गरी शहिद पार्क निमार्णमा सवै लाग्नु पर्ने बताउदै प्रतिष्ठानलाई रचनात्मक कार्य गर्न आग्रह गरे ।
सल्लाहकार एवं इन्सेक पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराका प्रमुख शिव खकुरेलले एउटा राजा फालेपनि सयौं राजा जन्मिएको उल्लेख गरे । स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले शहिद परिवारको तथ्याङ्क सहित बार्षिक दुई तिन वटा कार्यक्रम आयोजना गर्न प्रतिष्ठानलाई सुझाव दिदै आफ्नो क्षेत्रबाट सहयोग गर्ने वचन दिए । प्रतिष्ठानका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले शहिद परिवारलाई समेट्ने गरी र शहिद तथा वेपक्ता एवं घाईतेहरुको अबस्थाको बारेमा शहिद स्मारीका प्रकाशन गर्न सुझाव दिए । पोखरा उपमहानगरापालिका कार्यालयलका कार्यक्रम अधिकृत ओमराज पौडेलले नगरपालिकामा १० वटा गाविस गाभिए पछि केहि ठाँउमा जग्गा रहेकोले शहिद पार्क निमार्णको लागि जग्गा खोजि गर्न सवै लाग्नु पर्ने बताए । उनले एकल तथा उत्पीडनमा परेका महिलाको हकहितको क्षेत्रमा समेत काम गर्न प्रतिष्ठानलाई आग्रह गरे ।
प्रतिष्ठानका अध्यक्ष शहिद भिमसेनका दाहालका धर्मपत्नी सविता दाहालको अध्यक्षतामा भएको श्रृद्धान्जली सभामा नागरीक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, पत्रकार श्याँमनाथ कुवंर, प्रतिष्ठानका उपाध्यक्ष शिव पौडेल, मदनकाजी श्रेष्ठ लगायतले आनदान्दोलनको भावनालाई कदर हुने गरी सहमतिमा संविधान जारी गर्न खबरदारी गरे । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव दिपेन्द्र श्रेष्ठले गरेका थिए ।

