१२ औं फेवा नववर्ष महोत्सव सुरु ! रत्न मन्दिरमा ताला लगाएर राख्नु हुदैंन- थपलिया

Share:

रञ्जन अधिकारी पोखरा, २८ चैत /पोखराको बसुन्धरा पार्कमा शनिबारदेखि १२ औं फेवा नववर्ष महोत्सवसुरु भएको छ । पश्चिमाञ्चल होटल संघको आयोजनामा वैशाख २ गतेसम्म चल्ने महोत्सवको क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले उद्घाटन गरे । उनले फेवा महोत्सव ब्राण्डको रुपमा स्थापित भइसकेकोले यसलाई निरन्तरता दिन आग्रह गरे । पोखराको बसुन्धरा पार्कलाई प्रत्येक हप्ताको शुक्रबार रमाइलो गर्ने र पारिवारिक आनन्द लिन सक्ने स्थलको रुपमा विकास गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाई छ ।

नेपाल ट्रष्टको सम्पति भनेर रत्न मन्दिरमा ताला लगाएर राख्नु हुदैंन,’ उनले भने– यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्दछ ।’ पछिल्लो समय चिनिया पर्यटक नेपालसहित पोखरा आउने क्रम बढेसँगै सरकारले चिनिया पर्यटकलाई सहज रुपमा भिसाको व्यवस्था गर्ने गरी प्रक्रिया बढाएको बताए । प्रकृतिले सिंगारेको पोखरालाई विर्गान नहुने भन्दै उनले लगानीको समस्या पोखरामा नरहेको भन्दै पर्यटन प्रवद्र्धनको साथै पुवार्धारमा जोडदिनुपर्ने बताए ।

कार्यक्रममा संसद विकास समितिका सभापति एवम् सभासद् रविन्द्र अधिकारीले पोखराको विकास पोखरेलीले नै गर्नुपर्ने बताउँदै अवको राजनीति विकासको लागि हुनुपर्ने बताए । सबै राजनीतिक दलले अव नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ त्यस अनुरुप राजनीतिलाई अगाडि बढाउनुपर्ने अधिकारीको भनाई छ ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पोखरा पोखरेलीको मात्र नभएर विश्वमा रहेका सबै मानव समुदायको भएको बताउँदै यसलाई सो अनुरुप विकसित र व्यवस्थित गर्नुपर्ने बताए । पश्चिमाञ्चल होटल संघका पुर्व अध्यक्ष एवम सल्लाहाकार विश्वशंकर पालिखेले बन्द, हड्ताललाई सदाको लागि बन्द नगरेसम्म पर्यटनले फड्को पार्न नसक्ने बताए ।

संघका अध्यक्ष भरतराज पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा रेबान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई, नाट्टाका अध्यक्ष पोमनारायण श्रेष्ठ, टान पोखराका अध्यक्ष रामचन्द्र शर्मा, खहरे आमा समुहका अध्यक्ष नानीमाया सुवेदी, संघका प्रथम उपाध्यक्ष विकल शेरचन, द्धितिय उपाध्यक्ष लक्ष्मण सुवेदी लगायतले मेला महोत्सवले पर्यटन प्रर्वद्धनमा टेवा पुगेको बताएका थिए ।

उद्घाटन अघि खहरेबाट सुरु भएको ¥यालि बसुन्धरा पार्कमा आएर समापन भएको थियो । ¥यालिमा विभिन्न जातजातीको झाँकी प्रर्दशन गरिएको थियो भने ¥यालिमा विभिन्न संघ संस्था, आमा समुह, क्वल, उद्योगि व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

बैशाख २ गतेसम्म चल्ने महोत्सवमा चिनिया स्टल समेत रहेका छन् ।चीनको विइसियानबाट त्यहाँका मेयर सु चुनहुई सहितको टोली पोखरा आएको सल्लाहकार विश्वशंकर पालिखेले बताए । स्टलमा चीन सम्बन्धी जानकारी समेटिएका प्रचार सामग्री र चिनिया संस्कृति सम्बन्धी जानकारी दिइएको छ । महोत्सवका अवसरमा संघले होटलका बेडमा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा यसपटक लेकसाइडको सडकमा चैत ३० र वैशाख एक गते सडक महोत्सव समेत आयोजना गर्ने तयारी अगाडि बढाइएको छ । रेवान पोखरासँग सहकार्य गरी सडक महोत्सव गर्न लागिएको महासचिव भेकेन्द्रकुमार श्रेष्ठले बताए । पर्यटन, संस्कृति र खानालाई केन्द्रित गरी आयोजना भएकोे महोत्सवमा ६० वटा स्टल रहेको संघले जनाएको छ ।

अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई धुमधामले मनाउँदै आफ्नै मौलिक संस्कृति र फेवा तालको संरक्षण गर्ने उद्धेश्यले महोत्सव गरिएको हो । महोत्सवमा एक लाख पर्यटक आउने अनुमान संघले गरेको छ । काठमाडौंसहित नेपालका अन्य ठाउँबाट पर्यटकहरु नेपाली नयाँ वर्ष पोखरामा मनाउन र फेवा महोत्सवमा पनि सहभागी हुन आउने क्रम सुरु भएको छ । ५० लाख भन्दा बढी खर्च हुने महोत्सवमा पर्यटक दौड, डुंगा दौड, खानाका स्टल, सडक महोत्सव, दोहोरी गीत प्रतियोगिता, लाईभ कन्र्सट, नाचगानका कार्यक्रम र बाल उद्यान आकर्षणको रुपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: