पोखरा जेसीजको ४१ औं वार्षिकोत्सव

Share:

रञ्जन अधिकारी, पोखरा, २८ चैत / लामो इतिहास बोकेको युवाहरुको सामाजिक संस्था पोखरा जेसीजले शनिबार ४१ औं वार्षिकोत्सव मनाएको छ । सन् १९७५ मा स्व. केशवलाल श्रेष्ठको अध्यक्षतामा यहाँ स्थापित पोखरा जेसीजमा अहिले एक सय बढि विभिन्न पेशा व्यवसायमा सक्रिय युवाहरु आबद्ध छन् ।

नेपाल जेसिजको मुलुककै उत्कृष्ट शाखा मध्येको एक पोखरा जेसीजले वार्षिकोत्सवकै सन्दर्भमा जेसीज विकईण्ड प्रोग्राम तथा मुलुकमै प्रतिष्ठित मिस पोखरा कन्टेष्टलाई निरन्तरता दिने समेत जनाएको छ । संस्थाका सदस्यहरुले केक काटेर शुभकामना आदानप्रदान गर्दै वार्षिकोत्सव मनाएको हो ।

शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं पूर्व अध्यक्ष सिनेटर सुवास सिग्देलले पोखरा जेसीज चार दशक लामो ईतिहास बोकिसकेकाले अझै यसको गतिविधिलाई फराकिलो पार्दै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले जेसीहरु नै प्रतिष्ठित र विभिन्न क्षेत्रमा अगुवा रहेकाले जेसीजमा आबद्ध सदस्यहरुले सक्रियताका साथ लाग्नुपर्ने बताए । युवाको क्षमता तथा नेतृत्व विकासका लागि क्रियाशील जेसीजमा आबद्ध युवाहरु समाजका हरेक क्षेत्रमा ढाड फर्काएर होईन छाती देखाएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष गायत्री कुँवरले पोखरा जेसीज र पोखरा लेडी जेसीजको सहकार्यले समाजले सम्झने गतिविधि गर्नुपर्नेमा जोड दिँदै युवाहरु विकासमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिईन् । उनले पोखरा जेसीजलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने सम्पूर्ण पूर्व अध्यक्ष लगायत पदाधिकारीहरुलाई आभार व्यक्त गरिन् ।

कार्यक्रमको अध्यक्षता गरेका निवर्तमान अध्यक्ष तिलकराम पौडेलले संस्थाको विधान अनुसार रहेर सबै युवाहरु हातेमाले गर्दै अघि बढ्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष किरण केसीले स्वागत, कार्यक्रम संयोजक शक्ति बरुवालले धन्यवाद ज्ञापन र महासचिव शालिकराम गिरीले सञ्चालन गरेका थिए । आस्थापाठको अगुवाई उपाध्यक्ष सुवास सुवेदीले गरेका थिए । दुई वालकहरु दिपसन सापकोटा र निष्प्रभ सुवेदीले केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: