सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार सार्बजनिक विदा /राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Share:

काठमाडौं, वैशाख ३ / बुधबार राती निधन भएका पूर्व प्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ सूर्यबहादुर थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । नयाँ दिल्लीबाट उहाँको पार्थिव शरीरलाई भारत सरकारको विशेष विमानबाट बिहीबार दिउँसो काठमाडौं ल्याउने तयारी छ । काठमाडौं ल्याएपछि बिहीबार दिनभर उहाँको पार्थिव शरीरलाई थापा निवास मालिगाउँमा राखिनेछ ।

Surya-bahadur-thapa-शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार नै उहाँको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । सरकारको समन्वयमा अन्त्येष्टि हुने गिरीले जानकारी दिनुभयो ।

थापाको निधनको शोकमा शुक्रबार सार्बजनिक विदा

सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार एक दिन सार्बजनिक विदा दिने निर्णय गरेको छ । विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

त्यसैगरी एक दिन आधा झण्डा झुकाउने र स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा एक दिन विदा दिने बैठकले निर्णय गरेको छ ।

राप्रपाले १३ दिनसम्म औपचारिक कार्यक्रम नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति शोक मनाउन १३ दिनसम्म पार्टीको कुनैपनि औपचारिक गतिविधि सञ्चालन नगर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बिहीबार बसेको बैठकले सात दिनसम्म पार्टीको झन्डा झुकाउने,७५ जिल्लामा शोकपुस्तिका राख्ने र १३औँ पुण्यतिथिका दिन सबै जिल्ला पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

 बैठकले संस्थापक अध्यक्ष थापाको निधनबाट भावविह्वल एवम् शोक सन्तप्त नेता तथा कार्यकर्तालाई धैर्यधारण गर्नसमेत आह्वान गरेको छ ।

नेता थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान १० देखि १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चाबहिल र सार्वजनिक श्रद्धाञ्जलीका लागि सोही दिन एकदेखि तीन बजेसम्म दशरथ रङ्गशालामा राखिने प्रवक्ता ठाकुरप्रसाद शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: