भिसा प्रोसेसिङको जिम्मा विदेशीलाई दिन नहुने सफ्टवेयर इन्जिनियरको भनाई

Share:

काठमाडौं, वैशाख ५ / सफ्टवेयर इन्जिनियरले भिसा प्रोसेसिङको जिम्मा विदेशी कम्पनीलाई दिनै नहुने बताएका छन् । सफ्टवेयर इन्जिनियरहरुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विदेशी कम्पनीलाई भिसा प्रोसेसिङको जिम्मा दिँदा त्यसले राष्ट्रिय सुरक्षा र विभिन्न मुलुकसँगको कुटनीतिक सम्बन्धमा असर पर्ने खतरा औंलाए ।

passportसफ्टवेयर इन्जिनियर सशांकश्री न्यौपानेले भिसा प्रोसेसिङको जिम्मा लिने कम्पनीले आफूले प्रतिकुल ठानेको देशको नागरिकको आवेदन अस्वीकृत गर्न र आवेदन अस्वीकृत गरेको सूचना लुकाउन सक्ने भएकाले यस्तो गम्भीर प्रकृतिको कामको जिम्मा विदेशी कम्पनीलाइ दिनै नहुने बताउनुभयो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले भिसा प्रोसेसिङ अनलाइनबाट गर्ने सफ्टवेयर बनाउन नेपालमा दक्ष जनशक्ति नरहेको र सफ्टवेयर बनाउनका लागि विदेशबाट ठूलो पूर्वाधार ल्याउनुपर्ने बताएपछि सह्य नभएर सफ्टवेयर इन्जिनियरहरुले शनिबार आफ्नो मुख खोलेका हुन् ।

उनीहरुले अनलाइनमार्फत भिसा प्रोसेसिङ गर्ने सफ्टवेयर बनाउन कम्प्युटरबाहेक केही पनि नचाहिने र आफूहरुले तीन महिनामा सफ्टवेयर बनाएर देखाउने बताए । उपप्रधानमन्त्री तथा गहमन्त्री गौतमले सफ्टवेयर बनाउन डेढ अर्ब रुपैयाँ चाहिने बताएकामा आश्चर्य प्रकट गर्दै सफ्टवेयर इन्जिनियरले आफूहरुलाई जिम्मेवारी दिए सबै खर्च र कमिशन सहित एक करोड रुपैयाँमा सफ्टवेयर तयार पार्ने बताए ।

डेभलपर्स नेपालमा आवद्ध सफ्टवेयर इन्जिनियरले भिसा प्रोसेसिङ सम्बन्धी सफट्वेयर बनाइसकेपछि प्रोसेसिङको काम गर्न दुई जना कर्मचारी र सर्भरको खर्चसहित मासिक तीन लाख रुपैयाँ भए पुग्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: