
रेम बिक पोखरा, ६ बैशाख । पृथ्वी राजमार्ग बस व्यवसायी समितिले जेठको शुरुवातसँगै पोखरा काठमाण्डौमा ‘अति सुविधायुक्त बस’ संचालन गर्ने भएको छ । समितिले आईतबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको हो ।
२१ सिटे बस नेपालमै अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक हुने उसले दाबी गरेको छ । यात्रुले यो बसमार्फत पोखरा–काठमाण्डौ यात्रा गर्दा १२ सय देखि १५ सय रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ । ‘यो बसमा हुने सुविधाकै कारणले यात्रुले यतिसम्म भाडा तिर्नुपरेको हो ।’ समितिका अध्यक्ष एनकुमार साईले भने–‘यात्रुहरुले बढि रकम तिरेपनि भरमग्दुर सुविधा प्राप्त गर्नेछन् ।’
अध्यक्ष साईले दिएको जानकारी अनुसार यो बस वातानुकुलित हुनेछ । ‘सुपर डिलक्स’ सिट यो बसको अर्को सुविधा हो । त्यो सँगै बसभित्रै ‘मिनि बार’ हुनेछ । र, महिला ‘बस होस्टेस’ले यात्रुहरुलाई बारको सुविधा उपलब्ध गराउनेछन् । पहिलो चरणमा पोखरा–काठमाण्डौको लागि समितिले दुई वटा ‘अति विशिष्ट सुविधायुक्त’ गाडी संचालनमा ल्याउन लागेको हो ।
संचालनमा आउन लागेको गाडीको मुल्य १ करोड ७५ लाख रुपैयाँ पर्ने समितिले जनाएको छ । यात्रुहरुले बसमा यात्रा गर्नका लागि अनलाईन बुकिङको व्यवस्था समेत गरिने उसले बताएको छ ।
रात्रीबस पनि सुविधायुक्त बनाउने ः
समितिले रात्रीबसलाई पनि सुविधायुक्त बनाउँदै लैजाने भएको छ । उसले बैशाख ९ गतेदेखि पोखरा–काँकडभिट्टा, पोखरा–धरान र पोखरा–कटारीमा डिलक्स बसहरु संचालनमा ल्याउँदैछ । त्यस्तै चाँडै नै पोखरा–काठमाण्डौको रुटमा पनि वातानुकुलित र डिलक्स रात्री बसहरु संचालनमा ल्याउने तयारी भैरहेको अध्यक्ष साईले बताए ।
हाल संचालनमा आएका रात्रीकालिन बसहरुमा सिटमा बस्दा ‘कपडा च्यातिने’, ‘कपडा फोहोर हुने’, ‘आरामदायी नभएको’ जस्ता गुनासोहरु बढि आउने गरेका छन् । सुविधायुक्त गाडी संचालनमा आएसँगै यात्रुहरुबाट यस्ता गुनासोहरु नआउने समितिको विश्वास छ ।
समयअनुसार गाडीहरु परिमार्जन
समिति अन्तरगत हाल १२ सय वटा गाडीहरु संचालनमा रहेका छन् । ती मध्ये करिब ३ सय गाडीहरु ‘डिलक्स सुविधायुक्त’ छन् । पृथ्वी राजमार्ग बस व्यवसायी समितिले आफ्नो मातहतमा रहेका सम्पूर्ण गाडीहरुलाई समयको मागअनुसार परिमार्जन गर्दै लैजाने भएको छ । उसले यात्रुहरुको सेवा र सुविधाको लागि गाडीको स्तरियतालाई बढाउँदै लैजाने भएको हो ।
‘सडकको अवस्था हेरेर हामीले त्यस्तै खालको सुविधायुक्त गाडीहरु संचालनमा ल्याउँछौँ । केहि समय अवश्य लाग्छ तर सबै गाडीहरु डिलक्स हुनेछन् ।’ आईतबारको पत्रकार सम्मेलनमा साईले भने ।
मुस्ताङमा सिधै जान्छ
धौलागिरी यातायात संचालक समितिले पोखरा–मुस्ताङ जाने गाडीहरुलाई अवरोध गरेपछि बीचमा आएको तनाव यतिबेला सकिएको पृथ्वीले जनाएको छ । उसले भनेको छ–‘यात्रुहरु मुस्ताङको टिकट लिएपछि त्यहाँ पु¥याउने सम्पूर्ण जिम्मेवारी हाम्रो समितिले लिन्छ, ढुक्क भएर पोखरादेखि मुस्ताङको बस टिकट काटेर यात्रा गर्दा हुन्छ ।’
समितिले मुस्ताङ जाने बसको टिकट ट्राभल एजेन्सीहरुमार्फत नलिन यात्रुलाई आग्रह समेत गरेको छ । एजेन्सीहरुले यात्रुलाई तोकिएको मुल्यभन्दा चर्को मुल्यमा टिकट बेचिरहेका कारण अबदेखि एजेन्सीमार्फत आएको टिकटलाई मान्यता नदिने उसले बताएको छ । समितिले भनेको छ–‘हामीले यात्रुहरुलाई सजिलो हुनेगरि टिकट वितरण गर्नेछौँ, तर एजेन्सीमार्फत टिकट लिएकालाई हामीले मान्यता दिनेछैनौँ ।’ पोखराका होटल तथा ट्राभल एजेन्सीहरुले मुस्ताङ जाने यात्रुहरुबाट ३ हजार रुपैयाँसम्म लिने गरेको बताएको छ । जब की समितिले ९ सय ९५ रुपैयाँ टिकट दर तोकेको छ ।
