
२९ वैशाख, काठमाडौं ।
काठमाडौं र उपत्यका आसपासका जिल्लाहरुमा शक्तिशाली भूकम्प गएको छ ।१२ बजेर ५२ मिनेटमा ७।३ रेक्टर स्केलको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले सुरमा ७।१ भनेको थियो । तर, पछि ७।३ रेक्टर स्केलको भएको बताएको छ ।
भूकम्पको केन्द्र केन्द्र दोलखाको सुनखानी भएको बताइएको छ । भूकम्पपछि लगातार पराकम्पन गएको छ । ५।६, ५।५ र ६।२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् । वैशाख १२ गतेको ७।८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् ।
तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् ।
वैशाख १२ पछि आएको यो दोस्रो ठूलो भूकम्प हो । वैशाख १२ गते ७।८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि आएका अनिगिन्ती धक्कामध्ये सबैभन्दा ठूलो ६।९ रेक्टर स्केलको थियो । आजको भूकम्प ७।४ रेक्टर स्केल रहेको भूकम्प मापन केन्द्रको सूचनामा देखिएको छ ।
आजको भूकम्पबाट राजधानीबासीहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै राजधानीबासीहरु सडकमा निस्किएका छन् ।
पसलहरु एकाएक बन्द भएका छन् । पहिलो धक्कापछि सानातिना पराकम्पहरु पनि आउने क्रम रोकिएको छैन ।भूकम्पको क्षतिको विवरण आइसकेको छैन । ओखलढुंगाबाट पत्रकार धरुेन्द्र रुम्दालीले दिएको जानकारी अनुसार त्यहाँ बारम्बार भूकम्पको धक्का महसुस भइरहेको छ ।
पछिल्लो भूकम्पले दोलखा, सिन्धुपाल्चोक र काभ्रेमा ठूलो क्षति
१२ बजेर ५० मिनेट जाँदा गएको भूकम्पले दोलखामा ठूलो जनधनको क्षति भएको न्युज प्राप्त भएको छ । दोलखाको सदरमुकाम चरिकोट आसपासमा ठूला घरहरुसमेत भत्केको त्यहाँबाट जानकारी आएको छ । भूकम्पले घरहरु भत्कन थालेपछि मानिसहरुको भागदौड मच्चिएको छ । भूकम्पको केन्द्रबिन्दु मानिएको दोलखा र सिन्धुपाल्चोकको सिमाना सुनखानीमा ठूलो पहिरो आएको बताईएको छ
काभ्रेको पनौतीमा पनि धेरै घरहरु भत्केका छन् । पहिलेको भूकम्पले चर्केका अधिकांश घरहरु भत्केको र त्यहाँ धेरै जना घाइते भएका छन् । घाइतेलाई अस्पताल पुर्याउने काम भैरहेको छ ।
