
इजिप्ट, जेष्ठ २ – इजिप्टको एक अदालतले त्यहाँका अपदस्त राष्ट्रपति मोहोमद मोर्सीलाई मृत्युदण्डको फैसला सुनाएको छ ।
सन् २०११मा एक कारागारमा दंगाको बेला भएको नरसंहारका लागि उनी जिम्मेवार रहेको बताउँदै अदालतले उक्त फैसला सुनाएको हो । उनलाई केही साता अघि एक अर्को मुद्दामा २० वर्षे जेल सजाय सुनाइएको थियो ।
अब ‘ग्रान्ड मुफ्ती’, इजिप्टको उच्च धार्मिक अधिकारीमा उक्त निर्णयको पुनरावलोकन गर्नका लागि पठाइएको छ । उक्त अधिकारीको निर्णयपछि मात्रै मृत्युदण्डको फैसला कार्यान्वयन हुनेछ ।
सन् २०१३, जुलाईमा मोर्सीविरुद्ध भएको ठूलो जनप्रदर्शनपछि उनलाई सेनाले अपदस्त गरी इजिप्टको सत्ता आफ्नो हातमा लिएको थियो ।
मोर्सी लगायत अन्य सयौंलाई पनि अदालतले सन् २०११मा तत्कालिन राष्ट्रपति होस्ने मुबारकको विरोधका दौरान भएको कारागार दंगाका लागि मृत्युदण्ड सुनाएको छ ।
सबै मृत्युदण्डको फैसला ‘ग्रान्ड मुफ्ती’को अनुमोदनपछि मात्र कार्यान्वयनमा आउने छ । ‘ग्रान्ड मुफ्ती’ले अनुमोदन गरे पनि उच्च न्यायालयमा पुनरावलोकनका लागि भने निवेदन दिन भने पाइने छ ।
मोर्सीका समर्थकहरूले भने यो फैसलालाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिई विरोध गरेका छन् । मोर्सी इजिप्टका स्वतन्त्ररुपमा निर्वाचित प्रथम राष्ट्रपति हुन् ।
