
काठमाडौं, जेष्ठ ३ । पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन पाँच वर्षमा कम्तीमा १० अर्ब खर्चनुपर्ने निष्कर्ष निकालिएको छ। पर्यटन क्षेत्रको सुधार, पुनर्निर्माणसहितका काम गरेर सामान्य अवस्थामा ल्याउन यति रकम खर्चिनुपर्ने अनुमान गरिएको पर्यटन विभागले जानकारी दिएको छ।
सम्पदा क्षेत्रको पुनर्निर्माण गर्न करिब आठ अर्ब र पर्यटन क्षेत्रको सार्वजनिक संरचना निर्माण तथा मर्मतका लागि दुई अर्ब आवश्यक भएको सरोकारवाला निकायले जानकारी दिएका छन्। पाँच वर्षमा नेपालका सम्पदा क्षेत्रको पुनर्निर्माण गरिसक्ने योजना बनाएर काम सुरु भएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए। उनका अनुसार वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सम्पदा क्षेत्रमा पुर्याएको क्षतिलाई पुनर्निर्माण गर्न सरकारले तत्काल दुई अर्ब रुपैयाँ निकासा गर्ने भएको छ। यो रकमबाट काम सुरु गर्ने र थप रकम आवश्यकताअनुसार निकासा गरेर अगाडि बढ्ने पनि उनको भनाइ छ ।
सम्पदा क्षेत्रले नेपालको पर्यटकीय महत्त्व बोकेकै कारण पुनर्निर्माण गर्न विभिन्न दातृ निकायले पनि चासो देखाएको जानकारी दाहालले दिए। उनका अनुसार विनाशकारी भूकम्पका कारण पर्यटकीय महत्त्वका पाँच सय ८१ वटा सम्पदामा पूर्ण तथा आंशिक क्षति पुगेको छ। यी सम्पदाको पुनर्निर्माणका लागि अल्पकालीन, मध्यकालीन र पूर्णकालीन योजना बनाएर काम गर्न सुरु भएको छ।
पुरातत्त्व विभागका अनुसार उपत्यकाको तीन वटै सहरमा तीनतीनवटा सम्पदा निर्माण गर्न करिब पाँच करोड रुपैयाँ सहयोग गर्न एक जापानी नागरिक तयार भएका छन्। विश्व सम्पदा सूचीमा समेत सूचीकृत सम्पदा भएकै कारण विभिन्न दातृ निकायले पुनर्निर्माणमा चासो देखाएको विभागको भनाइ छ। यी सम्पदा बनाउने जिम्मेवारी भने सरकारी स्तरबाट नै भएको निर्णयअनुसार हुनुपर्ने विभागले जनाएको छ। भूक पले असर पारेको ट्राभल र ट्रेकिङ क्षेत्रको पुनर्निर्माण तथा आवश्यक मर्मतमा जोड दिइएको पर्यटन विगभाका महानिर्देशक गौतमले बताए।
यो क्षेत्रलाई सामान्य अवस्थामा ल्याउन दुई वर्ष लाग्ने र त्यसका लागि करिब दुई अर्ब रुपैयाँ खर्चनुपर्ने पनि गौतमले जानकारी दिए। उनका अनुसार यसअघि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्काल एक अर्ब आवश्यक भनेर सरकारसमक्ष जानकारी गराइसकिएको छ।
पर्यटन क्षेत्रमा परेको असरबारे भने कुनै मूल्यांकन नै गर्न नसकिने पर्यटन विभागको भनाइ छ। विभागका महानिर्देशक गौतमका अनुसार विनाशकारी भूकम्पका कारण आम्दानी घट्ने भएको छ, रोजगारी गुमेको छ, पर्यटकको आगमनमा पनि कमी हुने देखिएको छ। एकजना पर्यटकले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ११ जनासम्मलाई रोजगारी दिने भएकोले पर्यटन क्षेत्रमा परेको विभिन्न प्रभावसँगै मनोवैज्ञानिकदेखि लगानी गर्ने बैंक तथा वित्तीय संस्थाको विश्वाससमेत घटाउन सक्ने देखिएको छ।
होटेल क्षेत्रमा भूकम्पले पारेको असर, यसले पु:याएको क्षति र पुनर्निर्माणमा लाग्ने रकम सार्वजनिक गर्न अझै केही साता लाग्ने भएको छ। भूकम्पका पराकम्पन आउने क्रम जारी रहेकोले तत्कालै होटेलको अनुगमन गर्न नसकिने भएको होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष अमरमान शाक्यले बताए। उनका अनुसार हानले १४ वटा होटेलको अनुगमन गरेको भए पनि गत मंगलबार आएको अर्को ठूलो धक्काका कारण हाललाई अनुगमन रोकिएको छ।
होटेल क्षेत्रमा परेको प्रभाव र यसको पुनर्निर्माणमा लाग्ने रकमको बारेमा सबै होटेलको अनुगमन नगरी भन्न नसकिने उनको भनाइ छ। हानका अनुसार ठमेलको बजेट होटेल, गोदावरी भिलेज रिसोर्ट, ठमेल गेस्ट हाउसको एउटा भवनसहितका संरचना भत्किएका छन्।
हानले पहिले दर्ता भएका तीन सय ५० होटेल र त्यसपछि अरू होटेलको अनुगमन गर्ने भएको छ। हानमा आबद्ध दर्तावाला होटेल भने दुई सय ५० मात्रै छन्। पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा ल्याउन पर्यटन विभागले सार्वजनिक निजी साझा संयन्त्रको बैठक नियमित रूपमा गर्ने र नयाँ पर्यटकीय गन्तव्यको पहिचान, सुविधा विस्तार, प्रचारप्रसार र बजारीकरण गर्दै जाने काम गरेको विभागले जानकारी दिएको छ। पर्यटकीय गाउँको पूर्वाधार बनाउन सहरी विकास मन्त्रालयसँग साझेदारी गरिने भएको छ।
