कास्की जिल्ला कवाडी संघले लेखनाथका भुकम्पपीडितलाई घर बनाईदिने

Share:

रञ्जन अधिकारी पोखरा, ३ जेठ /गत वैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले घर भत्केर पालमुनी बस्न बाध्य भएका लेखनाथका पीडितलाई कास्की जिल्ला कवाडी संघले अस्थायी बासको व्यवस्था गरिदिने भएको छ ।

संघले आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी लेखनाथ १४ र १५ नं. वडाका तीन गाउँका पीडितहरुलाई अस्थायी आवास निर्माण गरिदिने जानकारी गराएको हो । ४० घरपरिवारलाई जस्तापाता र बाँसबाट निर्माण गरिने घरको कूल लागत करीब १६ लाख हुने अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

घर निर्माण कार्य सोमबारबाट नै सुरु हुनेछ । लेखनाथको थुम्को, ढकालथर लगायत वरपरका पीडितहरुलाई स्थानीय आमा समुह, युवाहरु तथा पोखरा ५ स्थित चिन्तनशील महिला समूह सहितको सहयोगमा घर निर्माण गरिने अधिकारीले जनाए । ‘हामी भुकम्पबाट बढि प्रभावित टाढा टाढा स्थानसम्म पुग्यौं तर नजिकैको लेखनाथमा समेत घर भत्किएर पालमुनी बस्न बाध्य रहेको भेट्टायौं । अधिकारीले भने– अब एक दुई दिनको लागि खानेकुरा भन्दा अस्थायी बासका लागि पहल गर्ने निधो गरेर यहीँबाट सुरुवा गरेका हौं ।

सरकारले पीडितहरुलाई तत्कालका लागि यस्तै अस्थायी बासको व्यवस्था गर्नुपर्ने भन्दै उनले कास्कीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखलाई समेत प्रेरणा मिलोस् भनेर सोमबार कार्यक्रममा आमन्त्रण गरिएको बताए ।

संघले सम्पूर्ण कवाडी पसलहरु बन्द गरी डेढ सयको संख्यामा व्यवसायीहरु स्वंय उपस्थित भएर श्रमदान गरी घर निर्माण गरिदिने उनको भनाई छ । श्रमिकहरुलाई खानाको व्यवस्था समेत संघले नै गरेको छ ।

घरको डिजाईन गरेका फ्युजन कन्सल्टेन्सीका ईञ्जिनियर बाबुराम भण्डारीले एक घरका लागि तीन बण्डल बढि (२२ पाता) जस्ता र २२ थान बाँस आवश्यक पर्ने बताउँदै अस्थायी रुपमा बस्नका लागि घर लाभदायक हुने विश्वास व्यक्त गरे । अर्का ईञ्जिनियर बुद्धि अधिकारीले तत्कालका लागि वर्षाबाट ओत लाग्न सकिने बताए । मोर्डन इरा टुर्स एण्ड ट्राभल्सका कार्यालय प्रमुख टीकाराम भण्डारीले कवाडी संघको अभियान प्रशंसायोग्य भएको बताए ।

संघले यसअघि भुकम्प पीडितहरुलाई रेडक्रस मार्फत एक लाख ५० हजारको खाद्यान्न र त्रिपाल सहयोग गरिसकेको छ भने काठमाण्डौंमा खानेपानीका लागि डेढ लाख खर्च गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: