
काठमाडौं, जेष्ठ ४ । यस वर्षको स्पेनिस लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । गएराती भएको खेलमा एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा १-० ले हराँउदै बार्सिलोनाले २३ औं पटक ला लिगाको उपाधि जितेको हो ।
खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले निर्णायक गोल गरे । जारी लिगमा एक खेल बाँकी छँदा बार्सिलोनाले अंक तालिकामा दोस्रो स्थानको रियाल मड्रिडसँग ४ अंकको अग्रता लिएको छ ।
गएराती भएको खेलमा रियाल मड्रिडले ईस्पानियोललाई ४-१ ले हरायो । रियाल मड्रिडका लागि क्रिष्चियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।
लुईस एन्रीकेको प्रशिक्षणमा रहेको बार्सिलोना जारी सिजनमा तीन वटा उपाधिको खोजीमा छ ।
लिग उपाधि जितेसँगै अब उसको ध्यान यही महिनाको अन्तिममा एथ्लेटिक बिल्बाओ विरुद्ध हुने स्पेनीस किङस कपको फाइनल खेलमा हुनेछ । त्यसपछि जुन ६ तारिखमा युभेन्टस विरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल हुनेछ ।
