
रञ्जन अधिकारी पोखरा, ४ जेठ । अहिले मुलुक पीडामा छ । लगातारको विनाशकारी भुकम्पको चोटले आमनेपालीलाई दुखेको छ । जनयुद्धदेखि संविधानका नाममा नेपालको विकाससँगको दुरी टाढिएको दुई दशक भयो । नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) एक चौथाई अर्थात् झण्डै ५ खर्ब क्षति भएको अर्थविद्हरुको अनुमान छ । साढे आठ हजार बढि नेपालीको ज्यान गयो, हजारौं घाईते छन् । लाखौं घरबार विहीन छन् । विश्व सम्पदा सुचीमा सुचिकृत पुरातात्विक सम्पदा सहित पाँच सय बढि मठमन्दिर ध्वस्त छन् ।
दर्जन जिल्ला नराम्ररी प्रभावित हुँदा भुकम्पले प्रभाव नपारेका जिल्लाबाट व्यक्तिगत तथा संस्थागत रुपमा राहत वितरण गरियो । राष्ट्रियताले बाँधेकै कारण पीडितहरु रुवाबासीमा छटपटिँदा अर्को जिल्लाका नागरिक रोए, सहयोगी हातहरु अघि बढाए । करोडौं नेपालीको मन दुखिरहेका बेला पोखरामा गत शुक्रबार राति ‘परिचय फेशन नाईट’ नाम दिएर पाँच तारे होटल ग्राण्डमा गुड फ्राईड मनाईयो । खुशी हुन चाहनेलाई स्वतन्त्रता छ, सधैं चिन्ता र रोएर मात्र पनि हुँदैन भन्ने तर्क पनि रहलान् । तर, मुलुकको पीडा बिर्साउने भन्दै ईन्टरनेशनल फेशन कलेज (आईएफसी) पोखराले आयोजना गरेको शो को व्यापक विरोध भयो, जब एक राष्ट्रिय दैनिक पत्रिकामै मोडल सीमा पाण्डेले राष्ट्रिय झण्डालाई स्कर्ट बनाएर ¥याम्प नापिरहेको ठूलो तस्बिर सार्वजनिक भयो । माथिल्लो गुप्ताङ्ग बुद्धको आँखाले छोपिएको, चन्द्र सूर्य अंकित निलो किनारा भएको त्रिकोणात्मक झण्डा कम्मर मुनिको भाग छोप्न बेरिएको थियो ।
शनिबार सामाजिक सञ्जालहरुमा चर्को विरोध भयो । भुकम्पपछि दर्दनाक तस्बिरले ढाकिएको फेसबुक र ट्विटरमा राष्ट्रिय झण्डा दुरुपयोग भएको यो तस्बिरले ठाउँ लियो । तर प्रशासन बेखबर थियो यो घटना सम्बन्धमा । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल सोमबार पूर्वान्ह जिल्ला प्रशासन कार्यालय पुग्दा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत भन्दै थिए ‘यो राम्रो भएन । तर यससम्बन्धी अधिकार शैक्षिक निकायलाई हुन्छ । किनकि कलेजले आयोजना गरेको कार्यक्रम रहेछ ।’ तर, पौडेल उनको जवाफमा सन्तुष्ट भएनन् ।
फेशन डिजाईनिङ सम्बन्धि अध्यापन गराउँदै आएको व्यवसायिक संस्था आईएफसीलाई शैक्षिक संस्था ठानेर प्रजिअ राउतले क्षेत्रीय शिक्षा निर्देशनालय जान सुझाएपछि क्षेत्रीय शिक्षा निर्देशक बैकुण्ठ प्रसाद अर्याल भेट्नेबित्तिकै प्रतिप्रश्न गरिहाले – ‘कहाँ रहेछ यो कलेज ? हामीलाई केहि जानकारी नै छैन । हामी त शैक्षिक निकायमात्र हेर्ने हो । जिल्ला शिक्षा कार्यालयमा पनि यस्तो कलेज दर्ता भएको थाहा छैन । यो संघसंस्था हो, स्थानीय प्रशासनकै क्षेत्राधिकारमा पर्छ ।’ उनले पत्रिकाको तस्बिर हेरेपछि भने– देश यस्तो पीडामा छ । क्याटवाकका नाममा कस्तो तरिका हो यो ? होटलवालालाई पनि बुझ्नुपर्छ ।’
यसपछि राष्ट्रियताका सवालमा गम्भीर देखिने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियालाई भेट्न कार्यालय पुग्दा उनी आश्चर्य चकित हुँदै भनिहाले ‘ओहो ! राष्ट्रियताको मज्जाक उडाईएको रहेछ । म त कम्मर सम्मर केहि जान्दिन, यस्ता पानाहरु पल्टाउने पनि गर्दिनँ । मलाई त थाहै थिएन ।’ नागरिक समाजका तर्फबाट ध्यानाकर्षण गराईएपछि थपलियाले कानुन विपरित गतिविधि गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनतामाथि प्रहार गर्ने जोकोहि कारबाहीको दायरामा आउने बताए ।
‘भुकम्पले त्रासदीपूर्ण वातावरण छ । हामी सबै राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने अवस्थामा मनोरञ्जनका नाममा राष्ट्रिय चिन्ह र स्वाधिनतालाई आँच आउने यस्तो क्रियाकिलापले राष्ट्रियताप्रति मजाक उडाउन खोजिएको देखिन्छ’ – थपलियाले भने– ‘कहाँ कस्तो, कसको स्वीकृति लिईएको हो, सार्वजनिक क्रियाकलाप हो होईन, आयोजक आधिकारीक संस्था हो या होईन, यो विषयमा स्थानीय प्रशासनसँग बुझी कामकारबाही अघि बढाईनेछ ।’
उनले आयोजकलाई कमीकमजोरी सच्याउन आग्रह गर्दै आफूले गरेको ठीक छ भनी जबर्जस्त गर्न खोजिएमा राष्ट्रिय स्वाधिनता र एकताको निम्ति यस्ता क्रियाकलापहरुलाई निस्तेज गर्नका लागि स्थानीय प्रशासनबाट आवश्यक कदम चाल्नका लागि निर्देशन पनि दिएका छन् । नागरिक समाज पोखराका संयोजक पौडेलले क्षेत्रीय प्रशासकको प्रतिबद्धताको स्वागत गर्दै अब कार्यान्वयन अवस्था हेर्ने र सम्पूर्ण नागरिकहरुले यस्तो प्रवृत्ति दोहोरिन नदिन खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए ।
गैरकानुनी तबरले बनाईएको पहिरन विवादित भएपछि आयोजकले क्षमायाचना गरेको छ । फेशन कलेजमै अध्ययनरत मोहन खड्काले सो पहिरनको डिजाईन गरेका थिए । पहिरनको बारेमा चर्को विवाद परेसँगै त्यो पहिरन ‘नियोजित’ तरिकाले नबनाएको र भुलवश यस्तो डिजाईन बनेको कलेजले स्पष्टिकरण दिएको छ ।
तपाईंहरुले स्वीकृति पाएरै कानुन विपरितको पहिरन प्रदर्शन गर्नुभएको हो त ? भन्ने प्रश्नमा आईएफसीका संचालक ज्योति गुरुङले भनिन्– ‘स्विकृति त लिएका थियौं जस्तो लागेन । मोहन भाइको स्केच हेर्दा यस्तो थिएन । उनले मदरहुड शीर्षकमा ममीलाई प्रिजेन्ट गर्ने भन्दै थियो तर शो मा यस्तो देख्दा हामी नै अचम्मित भयौं ।’ जानेर होईन नजानेर ठुलै गल्ति भएको भन्दै उनले गल्ती स्विकारिन् । सिनियर सञ्चालक सरस्वती गुरुङले पनि मोहन खड्का आफ्नै विद्यार्थी भएको र आयोजकको नाताले सबै जिम्मेवारी लिएर माफी माग्ने बताईन् ।
परिचय नाईट फेशन शोको कार्यक्रम संयोजक तथा कोरियोग्राफर नविन पाख्रिन भन्छन्– ‘यो पहिरन राष्ट्रियता झल्काउनलाई बनाईएको थियो । तर प्रशिक्षणरत भाईले गल्ती गर्दा ठिक उल्टो भैदियो ।’ डिजाईनर खड्का १८ वर्षका विद्यार्थी हुन् । यी किशोरलाई फेशन शो मा मोडललाई राष्ट्रभक्ति थिममा पहिरन बनाउने जिम्मा दिईएको थियो । उनलाई राष्ट्रभाव देखाउनु थियो पहिरनमार्फत । र, उनले रोजे नेपालको झण्डा, बुद्धको आँखा, हिमाल, विभिन्न धार्मिक चिन्हहरु ।
देश, सँस्कार र सँस्कृति पहिरनबाट प्रस्तुत गर्छु भनेर तयार गरेपनि सबै चिन्हहरु ठिक–ठिक ठाऊँमा नपरेपछि आफ्नो गल्ती भएको स्विकार्छन् खड्का । देशव्यापी आलोचना भएपछि उनी यतिबेला निराश छन् । निराश मुद्रामा उनले भने– ‘झन् देशको मान बढाउने काम गर्छु भनेको त अपमान हुने काम पो गरेछु ।’ मोहनले आफुलाई थाहा नभएर यस्तो खाले पहिरन बनाएकोले सबैलाई माफ गरिदिन आग्रह समेत गरेका छन् ।
सामाजिक सञ्जालमा तुच्छ आलोचना सहित आफ्नो फोटो भाईरल बनेपछि मोडल सीमा पाण्डे भन्छिन्ः म त ¥याम्पमा हिँड्दा जस्तो पहिरन बन्यो, त्यहि लाएर हिँड्ने हो । यसमा मेरो कुनै गल्ती छैन ।’ यद्यपी आफु पनि अन्जान भएकै कारणले यस्तो पहिरन लाएको र त्यसले राष्ट्रिय झण्डाको अपमान भएकोले माफि माग्ने कुरामा आफु नपन्छिने उनले बताईन् ।
आईएफसीले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत वर्षेनी डिजाईनरहरुको डिजाईन प्रस्तुतीकरणको लागि फेशन शो गर्दै आएको छ । आयोजकले पहिले नै यस विषयमा जानकारी नलिनु भने गम्भीर गल्ती हो । पहिरनको यस्तै खाले विवाद जगदम्बा स्टिलको विज्ञापनमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीले नेपालको झण्डाको पहिरन लगाएपछि पनि आएको थियो । तर, यत्तिको आपत्तिजनक थिएन । यस्तै भारतमा पनि पछिल्लो समय नायिका मल्लिका शेरावतले फिल्म ‘डर्टी पोलिटिक्स’मा भारतीय झण्डाको पहिरन लगाएपछि त्यहाँ चर्को विरोध मात्र भएन ज्यान मार्ने धम्की समेत आएको थियो । त्यसपछि त्यो फिल्मको निर्माण यूनिटले सार्वजनिक माफी मागेर फिल्मको पोस्टर नै परिवर्तन गरेको थियो ।
