विदेशबाट एक महिनामै आयो ५२ अर्ब रुपैयाँ

Share:

काठमाडौ, जेष्ठ ५ – भूकम्पका कारण मुलुक भित्रिने विदेशी मुद्रा ह्वात्तै बढेको छ। भूकम्प अघिका महिना औसत ३० अर्बका हाराहारी भित्रिने विदेशी मुद्रा झन्डै दोब्बर पुगेको हो। वैदेशिक रोजगारीमा रहेका र विदेशमै बसोबास गर्नेले फटाफट पैसा पठाउने क्रममा राहतका लागि विभिन्न संस्थामार्फत पैसा थपिएपछि वैशाखमा मात्रै ५२ अर्ब रुपैयाँ विदेशबाट भित्रिएको हो। वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनसँगैे विदेशी मुद्रा भित्रिने क्रम अझै जारी छ।

moneyविदेशबाट पठाएको रकम सम्बन्धित खाता वा रेमिट्यान्स कम्पनीमा आएपछि राष्ट्र बैंकमा गएर साटिन्छ। विदेशी मुद्रा ‘इन्टरभेन्सन’ भनिने साटिने प्रक्रिया बढ्नुमा विदेशबाट आउने रेमिट्यान्ससँगै राहत र सहयोग पनि रहेको छ। ‘औसतमा मासिक ३०/३१ अर्ब रुपैयाँको विदेशी मुद्रा इन्टरभेन्सन हुने गर्छ,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने, ‘वैशाख महिनामा करिब २० अर्ब बढेर ५२ अर्ब रुपैयाँ आएको देखिन्छ।’

औपचारिक माध्यममा विदेशबाट भित्रिने सबै रकमबारे राष्ट्र बैंकसँग जानकारी हुन्छ। विशेषगरी रेमिट्यान्स मार्फत विदेशी मुद्राको ठूलो आर्जन हुने गरेको छ। रेमिट्यान्स कम्पनी वा बैंक वित्तीय संस्थाले विदेशबाट आएको रकम हरेक दिन राष्ट्र बैंकमा लगेर बिक्री गर्छन्। यसरी खरिद गरिएको रकमलाई राष्ट्र बैंकले रेमिट्यान्स र अन्य वर्ग गरेर छुट्याउने गर्छ। ‘वैशाखमा आएको रकम यसरी छुट्याउन केही समय लाग्छ,’ श्रेष्ठले भने, ‘भूकम्पपछि रेमिट्यान्स बढेको, विदेशमा बसोबास गरिरहेकाले पनि आफन्तलाई सहयोग पठाएको कारण रकम बढेको हुन सक्छ।’ रोजगारीका लागि विदेश गएकाले मासिक रूपमा पठाउने रेमिट्यान्ससँगै सामान्य अवस्थामा नपठाउनेले पनि भूकम्पपछि रकम पठाएको हुन सक्ने उनले बताए। विभिन्न मुलुकमा सर्वसाधारण र संस्थाले नेपालको भूकम्पमा उद्धार र राहतका लागि रकम उठाइरहेका छन्। यसरी उठाइएको अधिकांश रकम सरकारी खातामा आएको छैन। जसले राहतका लागि उठाइएको कति रकम नेपाल आयो भन्ने तथ्यांक पनि सरकारसँग उपलब्ध हुँदैन। ‘कुन राहतका लागि र कुन व्यक्तिगत प्रयोजनका लागि आएको छुट्याउन सकिँदैन,’ श्रेष्ठले भने, ‘त्यसैले सरकारी खातामार्फत सहयोग गर्न अपिल गरिएको हो।’

विदेशी मुद्रा भित्रिने क्रम जेठ लागेपछि पनि यथावत देखिएको छ। ‘भित्रिने क्रम वैशाखकै जस्तो देखिन्छ,’ उनले भने। यसले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतलाई पनि बढाएको छ। यी दुवै बढ्दा मुलुकको आयात गर्न सक्ने क्षमता बढ्छ। तर धेरै विदेशी मुद्रा भित्रिँदा बजारमा नगद प्रवाह बढेर मूल्य वृद्धिको जोखिम पनि आउन सक्छ।

विभिन्न ‘क्राउड फन्डिङ’ वेबसाइटमा पनि नेपालका लागि खर्ब रुपैयाँको हाराहारी रकम उठाइएको छ। दर्जनौं वेबसाइटबाट नेपालका नाममा ‘क्याम्पेन’ चलाएर रकम उठाउने क्रम जारी छ। नेपालको नाम जोडर रकम उठाइए पनि त्यसको उपयोगिताबारे प्रश्न उठाउने ठाउँ प्रशस्त छन्। ‘दूतावास र महावाणिज्यदूत भएका मुलुकमा सरकारी कोषबाट मात्रै सहयोग उपलब्ध गराउन अनुरोध गरेका छौं,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘त्योभन्दा बढी केही गर्न सकिँदैन।’ सरकारले पनि पछिल्लो समय दातृ निकायका प्रतिनिधिलाई सरकारी खातामार्फत मात्र सहयोग गर्न आग्रह गरिरहेको छ।

केही संस्थाले भने उठेको रकम कहाँ र कसरी उपयोग भइरहेको छ भन्ने जानकारी पनि दिएका छन्। सामाजिक सञ्जाल फेसबुकले मात्रै १ करोड ७० लाख डलर नेपालको भूकम्पपीडितका लागि उठाएको छ। जसमा कम्पनीले थप २० लाख डलर पनि थपिदिएको छ। करिब १ अर्ब ९० करोड रुपैयाँ हाराहारी हुने यो रकमबाट उसले इन्टरनेसनल मेडिकल कर्प नामक संस्थामार्फत सहयोग गरिरहेको उल्लेख गरेको छ। त्यस्तै एप्पलले उठाएको रकम अमेरिकी रेडक्रसमार्फत सहयोगमा खर्च हुने जनाइएको छ। विदेशबाट रकम भित्रिने क्रम बढेका कारण बैंकको निक्षेप पनि बढेको छ। भूकम्पपछि १३ दिनमा वाणिज्य बैंकको निक्षेप २४ अर्ब रुपैयाँले बढेको छ। जसको प्रमुख कारण रेमिट्यान्स रहेको बैंकर बताउँछन्।

पछिल्लो समय सरकारले सहयोग रकम सँगै पुनर्निर्माणका काम पनि सरकारी योजनाअनुरूप गर्न आग्रह गरिरहेको छ। राहत, उद्धार र पुनर्निर्माणमा एकद्वार नीति बनाउँदा एकै ठाउँमा नदोहोरिने भएकाले यस्तो आग्रह गरिएको हो। तर विभिन्न मुलुकले आफ्नो नीति र व्यवस्थाअनुसार छुट्टै सहयोग पनि जारी राखेका छन्। भूकम्पका कारण ५ देखि १० खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सरकारले गरेको छ। जसका लागि आवश्यक रकम जुटाउन दातृ निकायसँग छलफल जारी राखिएको छ।

ekantipur.com

कमेन्ट गर्नुहोस्
Share: