
रञ्जन अधिकारी पोखरा, ९ जेठ / अपांगता भएका व्यक्तिहरुको संस्था सृजनशील अपांग समाज कास्कीले पोखरा ३ मा कार्यालय रहने गरी सृजनशील स्वावलम्बन कृषि सहकारी संस्था लि. को स्थापना गरेका छन् । ८५ शेयर सदस्यबाट ७ लाख ५० हजार पुँजी संकलन गरी सहकारी स्थापना गरेका हुन् ।
सहकारी सञ्चालक समितिको अध्यक्षमा फणिन्द्र प्रसाद पौडेल चयन भएका छन् । शनिबार संस्था उद्घाटनसँगै भएको प्रारम्भिक साधारणसभाले उपाध्यक्षमा नवराज अधिकारी, सचिवमा जगत पौडेल, सहसचिवमा पार्वती वाग्ले, कोषाध्यक्षमा चन्द्रमाया बास्तोला तथा सदस्यहरुमा परशुराम पौडेल, चुडामणि तिवारी, शंकर बास्तोला, गीता कुँवर अधिकारी, युगम अगस्थी, लोकनाथ पौडेल, विष्णु सिग्देल र रमा सिके चयन भएका छन् ।
यस्तै जगन्नाथ सुवेदी संयोजक रहेको लेखा उपसमिति, युगम अगस्थीको संयोजकत्वमा ऋण उपसमिति, लोकनाथ पौडेल संयोजक रहने गरी शिक्षा उपसमिति, नम्रता आचार्य संयोजकत्वमा महिला उपसमिति तथा भुषणराज भण्डारीको संयोजकत्वमा अपांग संरक्षण समिति गठन गरिएको छ ।
अपांगता भएका व्यक्तिहरुलाई संगठित गर्दै उनीहरुलाई स्वावलम्बन बनाउने सहज जीवनयापन गर्नका लागि कृषि गतिविधि गर्ने काममा सहयोग गर्ने सहकारीको मुख्य उद्देश्य हो । सहकारीको नेपाली काँग्रेसकी सभासद् शारदा पौडेलले शुभारम्भ गरिन् ।
पौडेलले विनाशकारी भुकम्पबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो दुःखद क्षणमा सबैलाई धैर्यधारण गर्न सक्ने सामथ्र्य दिऊन् भन्दै कामना पनि गरिन् । उनले अपांगता भएका व्यक्तिहरु मिलेर सहकारी खोल्नु रचनात्मक कार्य भन्दै सबै सहकार्य गर्दै अघि बढ्न आग्रह गरिन् ।
राष्ट्रिय सहकारी संघ नेपालकी सञ्चालक प्रभा कोईरालाले एक सहकारी एक कामको अवधारणा अनुसार अघि बढेमात्र समाजमा सहकारी स्थापित हुने र सहकारीमा आबद्ध सदस्यहरुको पनि जीवनस्तर उठ्ने बताईन् । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिहरु मानसिक रुपमा सवल भएको प्रमाण नै सहकारी स्थापना गर्नु रहेको भन्दै हिम्मतका साथ अघि बढ्न आग्रह गरे ।
जिल्ला कृषि विकास कार्यालय, कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोईरालाले कृषिको कार्यविधी अनुसार कार्यसञ्चालन गर्न आग्रह गर्दै तालिम, अनुदान लगायतका सवालमा सहयोग गर्न कार्यालय तयार रहेको बताए ।
टोल विकास संस्था पोखरा वडा नं. ३ समन्वय समिति अध्यक्ष विष्णुशंकर ख्वाउजुले अपांगता भएका व्यक्तिहरु पनि सपाङ्ग भन्दा कम नहुने धारणा राखे । कास्की नेत्रहिन संघका अध्यक्ष लक्ष्मण सुवेदीले अपांगता भएका व्यक्तिहरुमाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको उल्लेख गर्दै आफूहरु केहिमा कम नभएको दाबी गरे ।
