खेलकुद पत्रकारीता सम्बन्धि तीन दिने तालिम सुरु

Share:

रञ्जन अधिकारी, पोखरा १२ जेठ /  नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको आयोजनामा मंगलबारदेखि पोखरामा खेलकुद पत्रकारीता सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समिति, पोखरा उप–महानगरपालिका कार्यालय र सहारा क्लब पोखराको सहयोगमा संचालित तालिममा पोखराका खेल पत्रकारहरुलाई क्रिकेट, गल्फ, भलिवल, फुटवल लगायतका खेलको बारेमा प्रशिक्षण दिईने तालिम संयोजक एवं मञ्चका उपाध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए । तालिममा पोखरामा रहेर खेलकूद विषयमा कलम चलाउँदै आएका ४० पत्रकारको सहभागिता रहेको छ ।

तालिमको शुभारम्भ गर्दै सहयोगी संस्था पोखरा उपमहानरपालिका कार्यालयका कार्यकारी अधिकृत उदयबहादुर रानाले तालिम पछि पत्रकारहरुलाई खेलबारे गहिरिएर ज्ञान प्राप्त हुने हुँदा दक्षता अभिवृद्धि हुने बताए । ‘धेरै विषयमा पत्रकारले लेख्नुपर्ने हुन्छ तर सम्बन्धित विषयमा गहिरो ज्ञान भयो भने पत्रकारको लेखाईले सबै दर्शक श्रोतालाई थप जानकारी प्राप्त हुन्छ’– रानाले भने – ‘त्यसैले तालिमले पत्रकारको क्षमता बढाउने भएकाले फलदायी बन्नेछ भन्ने विश्वास लिएको छु ।’

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँलले पत्रकारहरुलाई खेलको प्राविधिक ज्ञान मात्र महत्वपूर्ण नहुने तर खेलबारे सही सूचना प्रवाह गर्नमा भने सधैं सतर्क रहनुपर्नेमा जोड दिए । उनले अहिलेको पुस्ता खेलबारे धेरै बुझ्ने भईसकेको भन्दै पत्रकारले नजानेर समेत गल्ती लेख्न छुट नहुने बताए । उनले भुकम्प प्रभावित पत्रकारका परिवारलाई सहयोग गरेकोमा सहयोगी संघसंस्थाप्रति आभार समेत व्यक्त गरेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष दीपक कोईरालाले पोखराको खेलकूद गतिविधि यो अवस्थासम्म आउनुमा पोखराका मिडिया, पत्रकारहरुको पनि उल्लेख्य योगदान रहेको चर्चा गर्दै कार्यकालको अन्तिम समयतिर आईपुग्दा खेलकुद क्रियाकलापलाई अघि बढाउन आफूहरु सफल भएको बताए । नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक अध्यक्षमा नियुक्त भएकोमा उनलाई सो अवसरममा मञ्चले सम्मान समेत गरेको थियो ।

कास्की जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सुमन देवकोटाले कास्कीको खेलकुदलाई अघि बढाउन आफू सधैं लागिपरेको उल्लेख गर्दै सबैको साथ सहयोगले नै यो उपलब्धी हाँसिल भएको बताए । उनले कास्कीको खेलकुदलाई अघि बढाउन पत्रकारहरु र आम पोखरेलीको सहयोग अपरिहार्य भएको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले कास्कीका पत्रकारहरु खेल पत्रकारितामा कमजोर नभएपनि तालिमले प्राविधिक ज्ञान हासिल हुने भएकाले तालिम आयोजना गरेकोमा मञ्चलाई धन्यवाद दिए । उनले पत्रकारहरुलाई तालिमबाट भरपुर फाईदा लिन समेत अनुरोध गरे ।

मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत तथा सचिव दिननाथ बरालले सञ्चालन गरेका थिए ।

तालिमको पहिलो दिन मंगलबार मञ्चका केन्द्रिय तालिम विभाग प्रमुख पवन आचार्यले खेलकूद पत्रकारिता र अन्य विषयका पत्रकारिताबीचको भिन्नता तथा मञ्चका अध्यक्ष अजय फुयाँलले फुटबल सम्बन्धी पत्रकारिता गर्ने विषयमा सहजीकरण गरेका थिए । दोस्रो दिन बुधबार गल्फ र भलिबल खेलका बारेमा प्रशिक्षण दिईने तालिम संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । गल्फ खेलबारेमा महेश आचार्य, क्रिकेट खेल विषयमा देवेन्द्र सुवेदी तथा भलिबल खेल विषयमा डिबि नेपालीले सहजीकरण गर्नेछन् ।

यसैबीच, तालिम उद्घाटन अवसरमा गत वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट ज्यान गुमाएका खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष सुमन भोम्जन र वरिष्ठ भलिबल प्रशिक्षक केशवलाल श्रेष्ठको परिवारका लागि राहत रकम पनि हस्तान्तरण गरिएको थियो ।

सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले क्लबका तर्फबाट पत्रकार भोम्जनको परिवारका लागि मञ्चले स्थापना गरेको सुमन भोम्जन सहयोग कोषमा १५ हजार ५ सय ५५ रुपैंया अध्यक्ष फुयाँललाई हस्तान्तरण गरे ।

यस्तै, पोखराका चर्चित खेलाडीहरु राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, भलिबल खेलाडीहरु मञ्जु गुरुङ, सिपोरा गुरुङ र परीक्षा गुरुङले भोम्जन परिवारका लागि ३० हजार र श्रेष्ठ परिवारका लागि ३० हजार रुपैंया फुयाँल मार्फत प्रदान गरे ।

सिपोरा अभिनित फिल्म याम्फावती निर्माता थुम्रो ईन्टरनेशनलले पनि पत्रकार भोम्जनको परिवारलाई ११ हजार १ सय ११ रुपैंया प्रदान गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: