अर्थमन्त्री भन्छन् : नेपालीको प्रतिव्यक्ति आय घट्छ

Share:

काठमाडौं, १२ जेठ / अर्थमन्त्री डा. रामशरण महतले भूकम्पका कारण नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा कमी आउने बताएका छन् । नेपालका लागि जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष अकिहिको तानाकासँग अर्थमन्त्रालयमा भेटघाट तथा छलफलको क्रममा भूकम्पले निजी तथा सकारी सम्पत्तिमा ठूलो क्षति पुर्याएकाले जीडीपी घट्ने बताएका हुन् ।

देशको कूल ग्राहस्थ उत्पादन घट्ने भएपछि नेपालीको प्रति व्यक्ति आय पनि घाट्ने भएको हो । विश्व बैंकका अनुसार नेपाल वार्षिका प्रतिव्यक्ति आय ७ सय ३० अमेरिकी डलर रहेको छ ।
अर्थमन्त्री महतले नेपालको निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, हस्पिटल, विद्यालय, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदाहरुमा ठूलो क्षति पु-याएपनि सरकार तिनलाई छिटै पुनर्निर्माण गर्ने र अझ राम्रो तथा व्यवस्थित पुनर्निर्माण गर्ने बताए । क्षति ठूलो भएको जानकारी दिदै उहाँले जीडीपी नै घट्ने भएकाले पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायहरुबाट ठूलो सहयोगको आवश्यकता रहेकोमा जोड दिए । भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले ऋणभन्दा अनुदान र सामानभन्दा नगदमा सहायता खोजेको पनि स्पष्ट पारे ।

भेटघाटको अवसरमा नेपालमा हालै गएको भूकम्प, यसले पु-याएको क्षति र पुनर्निर्माणका बारेमा विस्तृत छलफल भएको थियो । हालै अजरवैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको बैठकका अवसरमा जापानका उपप्रधानमन्त्री तथा अर्थमन्त्री तारो आसोसँग भएको भेट र उनले नेपाललाई सहयोग गर्न सहायता सम्मेलनको संयोजन गरिदिने आश्वासन दिएको अर्थमन्त्री डा महतले स्मरण गरे ।

आगामी जुन २५ मा नेपाल सहायता सम्मेलन आयोजना गरिने र सो सम्मेलनमा जापान सरकारको तर्फबाट उच्च नेतृत्वको सहभागिता चाहेको बताए । डा. महतले भने, ‘जुलाई ८ भित्र बजेट प्रस्तुत गरिसक्नुपर्छ । सहायता सम्मेलनमा दाता मुलुक तथा संस्थाहरुबाट सहयोगको मोटामोटी घोषणा भएमा पुनर्निर्माणलाई सहयोग पुग्नेछ । ’

जाइकाका अध्यक्ष तानाकाले पुनर्निर्माणका लागि ठूलो सहायता जुटाउनुपर्ने भएकोले सहायता सम्मेलन नै गर्नु स्वागतयोग्य भएको बताए । जापान नेपालसँग लामो मित्रवत सम्वन्ध राख्न चाहन्छ भन्दै उहाँले शिक्षा, स्वाथ्य लगायतका पूर्वाधार निर्माणमा जापान सहयोग गर्न र काम गर्न इच्छुक रहेको बताए । अध्यक्ष तानाकाले नेपालको आवश्यकता अनुसार जापानले सहयोग गर्ने जानकारी पनि दिए ।

कमेन्ट गर्नुहोस्
Share: