अमेरिकाले फिफामा हस्तक्षेप गरेको रुसी राष्ट्रपतिको आरोप

Share:

काठमाडौं, जेष्ठ १५ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फिफा अध्यक्ष सेप ब्लाटरविरुद्ध अमेरिकाले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

फिफाका एक दर्जन बढी पदाधिकारीमाथि अमेरिकी न्यायिक निकायमा जारी आपराधिक छानबिन प्रक्रियामाथि प्रतिक्रिया दिँदै पुटिनले यसलाई अमेरिकी षड्यन्त्र भनेका हुन् ।

सन् २०१८ मा रुसलाई विश्वकप आयोजना गर्न दिने निर्णय गरेबापत ब्लाटरमाथि अमेरिका आक्रमक भएको पुटिनको बुझाइ छ ।

ब्लाटरलाई फिफा अध्यक्षको पदबाट हटाउन अमेरिकाले उनका सहयोगीहरुलाई पक्राउ गरेको दाबी गर्दै पुटिनले शुक्रबार हुने अध्यक्षको चुनावमा आफ्नो साथ ब्लाटरलाई रहेको स्पष्ट पारे ।

उता, युरोपियन फुटबल महासंघ युएफाले भने शुक्रबार हुने फिफा निर्वाचनमा अध्यक्ष पदको लागि जोर्डनका युवराज अली बिन अल हुसैनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) र अफ्रिकी फुटबल महासंघले भने ब्लाटरलाई नै समर्थन गर्ने जनाएका छन् ।

घुसखोरी र आर्थिक अनियमितताको प्रकरणले फिफालाई जर्जर बनाएको बेला स्वीट्जरल्यान्डको ज्युरीचमा शुक्रबार फिफा अध्यक्षको चुनाव हुँदैछ । २ सय ९ सदस्य राष्ट्रले मताधिकार प्रयोग गर्न पाउने चुनावमार्फत् ब्लाटर पाँचौ कार्यकाल खोजी गर्दैछन् भने जोर्डनका युवराज हुसैनले उनलाई टक्कर दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: