छोरीको विवाहको लागि छुट्याएको रकम भूकम्प पीडितलाई

Share:

काठमाडौ, १५ जेठ / सुरेन्द्र माथेमाले आफ्नी छोरीको विवाहको लागि छुट्याएको रकम भूकम्प पीडितलाई सहायोग गरेका छन् । माथेमाले शुक्रबार प्रधानमन्त्री सुशील कोइराललाई भेटी छोरी प्रिति माथेमाको बिबाहको लागि छुट्टयाएको मध्ये २ लाख रुपैया भूकम्प पीडितहरुको सहयोगको लागि प्रदान गरेका हुन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

सो रकम माथेमा ,उनकी पत्नी माला माथेमा , छोरी प्रिति र ज्वाई जेसी टिस(अमेरिकी नागरिक)ले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
माथेमाले मुलुक दुःखमा रहेको बेलामा तामझाम गरेर बिहे गर्न इच्छा नभएको र भोज र अन्य खर्चको लागि छुट्टयाएको रकम भूकम्प पीडितको लागि प्रदान गरिएको बताए ।

नेपाल बैंक लिमिटेडका कर्मचारीहरुले भूकम्प पीडितको लागि ८७ लाख,२५ हजार ६सय ५ रुपैया ८० पैसाको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् ।

आजै बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागले उद्धार कोषमा ५० लाख रुपैया सहयोग गरेको छ । विभागका प्रमुख दिलिप रेग्मीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

आजै अष्ट्रेलियामा कार्यरत नेपालीहरुको आधार आडरा डेभलपमेण्टले पनि कोषमा सहयोग प्रदान गरेको छ । संस्थाका प्रतिनिधिहरुले ५ लाख रुपैयाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हिमालयन टर्मिनल का आर बी रौनियारले ५ लाख रुपैयाँ सहयोग गरेका छन् । यो संस्थाले वीरगञ्ज सुख्खा बन्दरगाहको सञ्चालन गर्दै आएको छ ।

प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा विदेशी मुद्रा व्यवसायी संघका तर्फबाट ३ लाख ५१हजार १ सय ११ रुपैया प्राप्त भएको छ । संघका पदाधिकारीहरुले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई प्रदान गरेका थिए ।

जापानमा अवस्थित नाकामुरा केनिची कर्पोरेशनले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा सहयोग गरेको छ । सो संस्थाले १६ हजार ६ सय ६७ अमेरिकी डलर सहयोग गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: