नेपाल मगर संघ कास्कीको अध्यक्षमा पूर्ण रानामगर

Share:

रञ्जन अधिकारी पोखरा, १५ जेठ / नेपाल मगर संघ कास्कीको सातौं जिल्ला अधिवेशन तथा २१ औं जिल्ला सम्मेलनले पुर्णबहादुर राना मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मेज प्रेम बहादुर थापा मगर, सचिवमा यम बहादुर थापा (बरही) मगर, सहसचिवमा संगीता पुन मगर, कोषाध्यक्षमा कुमार थापा मगर चयन गरिएको निर्वाचन समिति सदस्य मीना थापा मगरले जानकारी दिईन् । सहकोषाध्यक्ष सहित बाँकी सदस्यहरुको चयन पहिलो बैठकले गर्नेछ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले देशमा गएको महाभूकम्पपछि उद्दार, राहत वितरणमा आफूहरू सक्रिय भएको जानकारी दिए । उनले मगर सङ्घको नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा हालसम्म करिब ५० लाख रुपैयाँ भन्दा बढीको राहत वितरण भइरहेको जनाउँदै पुनर्निर्माणका लागि क्षेत्रीय भेलाहरू गरी मगर स्वयंसेवक खटाउने तयारी भइरहेको जनाए ।

त्यस्तै, पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगरले नीति निर्माण तहमा मगर जातिको जनसंख्याको अनुपातमा प्रतिनिधित्वका लागि मगर सङ्घ सम्बन्धित ठाउँमा लबिङ गर्नुपर्ने बताए । साथै, उनले समाजमा रहेका विकृति, विसंगतिहरू हटाउन अग्रसर रहनुपर्नेमा जोड दिए ।

अधिवेशनको उद्घाटनसत्रमा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल संयोजक झलकबहादुर रानामगर, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल मगर सङ्घ कास्कीका संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापामगर, नेपाल मगर महिला सङ्घ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर विद्यार्थी सङ्घ कास्कीका अध्यक्ष नेत्र घर्तीमगरलगायतले बोलेका थिए । अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगरले गरेका थिए भने उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, २१ औं जिल्ला सम्मेलनले १० बुँदे पोखरा घोषणापत्र समेत जारी गरेको छ । भुकम्प प्रभावितलाई राहत तथा पुर्नस्थापनाको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । यस्तै, संघले जातिय पहिचान सहितको संघीयता र संघीयता सहितको नयाँ संविधान निर्माण गरी तत्काल जारी गर्न, धर्म निरपेक्षतालाई व्यवहारमा उतार्न, राज्यका हरेक निकायमा जातीय जनसंख्याको आधारले समावेशी तथा समानुपातिक प्रतिनिधित्व गराउन पनि सरकारसँग माग गरेको छ । मगर जातिको ऐतिहासिक थातथलो, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न उचित नीति बनाउन, मगर संग्रहालयको स्थापनाका लागि सहयोग गर्न, लखन थापा मगरलाई प्रथम सहीद घोषणा गरी राष्ट्रिय विभूतिकिो मान्यता दिन पनि माग गरिएको छ । यसैगरी, मगर भाषामा प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म पठनपाठनको व्यवस्था गरी तत्काल कार्यान्वयनको लागि माग गर्नुका साथै मगर जातिका चाडपर्वमा सार्वजनिक बिदा दिन समेत माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: