
रेम बिक पोखरा, १६ जेठ | भूकम्पले आल्हादित मन अब बलियो बन्नुपर्छ । र, भत्किएको मन सँगै संरचनाहरुलाई पनि फेरी उचाल्नुपर्छ । विनाशपछिका दिनहरुलाई विकासतर्फ लम्काउनुपर्छ । गायन र संगीतको माध्यमबाट यस्तै सन्देश दिए पोखरामा कलाकारहरुले । भत्किएको नेपाली मनलाई टाल्ने कोशिष गरे उनीहरुले संगीतमार्फत नै ।
पोखरा पर्यटन पुर्नजागरण समितिको आयोजनामा भएको वृहत साँगीतिक कन्सर्टमा देशका चर्चित ब्याण्ड र गायकगायिकाहरुले प्रस्तुती राखे । अन्य सेलिब्रिटिहरुले पनि मानिसहरुलाई मन दरो बनाएर नयाँ नेपाल निर्माणमा जुट्नका लागि आह्वान गरे । ‘पुर्नजागरणका लागि संगीत’ नाम राखेर आयोजित कन्सर्टमा पोखरेलीहरुले पनि खुलेरै साथ दिए ।
महानायक राजेश हमाल कन्सर्टमा विशेष अतिथिको रुपमा आएका थिए । श्रीमती मधु भट्टराईको साथमा कन्सर्टमा आईपुगेका हमालले नेपालीहरु यो बेलामा एकजुट भएर लाग्नुपर्ने बेला भएको बताए । कन्सर्टमा अर्का नायक भुवन केसी पनि सहभागि थिए ।
साँगीतिक कार्यक्रममा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेबी कोईरालासँगै रामकृष्ण ढकाल, जेम्स प्रधान, धर्मेन्द्र सेवान, आस्था राउत, प्रश्ना शाक्यले पुर्नजागरणको सोँच जगाउने खालको गीतहरु प्रस्तुत गरे । राष्ट्रिय भाव जोडिएको गीतहरुलाई दर्शकले पनि निकै रुचाए ।
साँगीतिक ब्याण्डतर्फ अभया एन्ड र स्टिम्स ईन्जन्स, अनुप्रस्थ, रक स्टेरियोको प्रस्तुतीलाई दर्शकले रुचाए ।
शुक्रबार हुने भनिएको कन्सर्ट मौसमी खराबीका कारण शनिबारका लागि सरेको थियो । भूकम्प पिडितहरुको सहयोगार्थ कन्सर्ट आयोजना गरेको आयोजकले बताएको छ ।
तस्वीर:युनिश गुरुङ
