राहत वितरणमा अर्थमन्त्रीको दादागिरी, बढि क्षति भएका जिल्ला भन्दा नुवाकोटमा दोब्बर तेब्बर रकम निकासा

263
0
Share:

काठमाडौँ । बैशाख १२ गते गएको महाभूकम्पपछिको राहत वितरणमा सरकारले चरम विभेद गरेको देखिएको छ । सरकारले सबै भन्दा बढि धनजनको क्षति भएको सिन्धुलाल्चोकमा भन्दा नुवाकोटमा दुई गुणा बढि रकम निकासा गरेको सार्वजनिक भएपछि सरकारी विभेदको पर्दा खुलेको हो ।

अर्थमन्त्री डा.रामशरण महतको गृह जिल्ला नुवाकोटमा उद्धार तथा राहतका लागि एक महिनामा एक अर्ब चार करोड निकासा भएको छ । तर सबै भन्दा बढि मानिविय तथा भौतिक क्षति पुगेको सिन्धुलाल्चोकमा भने जम्मा ५६ करोड ७१ लाख मात्रै निकासा भएको छ । महाभूकम्पमा परि सिन्धुपाल्चोकमा तीन हजार चार सय २४ जनाको मृत्यु भएको छ भने ६३ हजार आठ सय ८५ घर पुर्णरुपले ध्वस्त भएका छन् ।

rahat_bitaran_img

एक हजार ५८ जनाको मृत्य र ५७ हजार नौ सय ४३ घर नष्ट भएको नुवाकोटमा भने सरकारले सिन्धुपाल्चोकको भन्दा झण्डै दुई गुणा बढि अर्थात एक अर्ब चार करोड ५९ लाख निकासा गरेको हो । महाभूकम्पले पारेको क्षतिको आधारमा नुवाकोट तीन नम्बरमा पर्छ । दोश्रो धेरै क्षतिको भएको जिल्लाका रुपमा रहेको काठमाडौंमा एक हजार दुई सय १६ जनाले ज्यान गुमाएका छन् भने ३६ हजार नौ सय ७३ घर ध्वस्त भएका छन् । सरकारले काठमाडौंका लागि भने एक महिनामा ३१ करोड तीन लाख मात्रै निकासा गरेको देखिन्छ ।

सरकारले एक महिनाभित्र निकासा गरेको पाँच अर्ब ५३ करोड १५ लाख रुपैंयाँमध्ये भूकम्प प्रभावित बिभिन्न १६ जिल्लामा चार अर्ब ३५ करोड ६६ लाख उपलब्ध गराएको छ । अर्थमन्त्री डा.रामशरण महतले आफ्नो हात जगन्नाथकै शैलीमा नुवाकोटमा धेरै रकम निकासा गरेका हुन् ।

जिल्लागत रकम निकासा

सरकारले हालसम्म रसुवामा १३ करोड आठ लाख, धादिङमा ३६ करोड ९७ लाख, काभ्रेमा २३ करोड ८७ लाख, सिन्धुलीमा १९ करोड ३४ लाख, ओखलढुङगामा १० करोड १८ लाख, रामेछापमा २२ करोड २४ लाख रुपैंयाँ निकासा गरेको देखिन्छ ।

त्यस्तै गोरखामा २८ करोड सात लाख, दोलखामा ३५ करोड, मकवानपुरमा नौ करोड, काठमाडौंमा ३१ करोड तीन लाख, ललितपुरमा ११ करोड ७१ लाख, भक्तपुरमा १४ करोड ६७ लाख, लमजुङमा पाँच करोड ५५ लाख र तनहुँमा चार करोड चार लाख रुपैंयाँ निकासा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: