
पोखरा, १७ जेठ। जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एन–प्याब्सान कास्कीको विशेष सहयोगमा पोखरामा सम्पन्न सातौं राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टप्स उमावि च्याम्पियन बन्न सफल भएको छ।
छात्रा भलिबलमा प्रथम भई ३५ तथा एथलेटिक्समा दोस्रो भई १०१ गरी समग्रमा १३५ अड्ढ प्राप्त गर्दै टप्स उमावि यस वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो। योसँगै टप्स च्याम्पियनको शृङ्खला छैटौं हो। यस्तै भलिबलमा १४ र एथलेटिक्समा ११२ गरी जम्मा १२६ अड्ढसहित कास्की मोडनाइज एकेडेमी द्वितीय तथा एथलेटिक्समा ७६ अड्ढसहित गौरीशंकर उमावि हेमजा तृतीय हुन सफल भएका छन्। च्याम्पियन बनेको टप्सले नगद १५ हजार, द्वितीय बनेको कास्की मोडनाइज एकेडेमीले नगद १२ हजार र तृतीय बनेको गौरीशंकर उमाविले नगद १० हजार प्राप्त गरे।
विजेता तथा उपविजेतालाई एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोची, प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाट, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष खेमबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, कार्यालय प्रमुख प्रकाश बराल, राष्ट्रिय भलिबल खेलाडी अरुणा शाही, टप्स उमाविका संस्थापक रत्नमान गुरुङ, एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललगायतले च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
एथलेटिक्सतर्फ ११२ अड्ढसहित कास्की मोडनाइज एकेडेमी प्रथम, १०१ अड्ढसहित टप्स उमावि द्वितीय र ७६ अड्ढसहित गौरीशंकर उमावि हेमजा तृतीय भए। छात्र भलिबलमा वीरेठाँटी उमावि प्रथम भएको छ। उसले आइतबार भएको फाइनलमा सिद्धबराह मावि चापाकोटलाई २५–११, २५–१४ र २५–२० को सोझो सेटमा पराजित गर्दै वीरेठाँटी उमावि प्रथम भएको हो।छात्रातर्फ टप्स उमावि प्रथम भएको छ। आइतबार नै भएको फाइनलमा धौलाश्री उमावि छोम्रोङलाई २५–१०, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गर्दै टप्स उमावि प्रथम भएको हो।दुवै फाइनल खेल राष्ट्रिय रेफ्री गोपाल थापा, राम पुन र चित्रजंग गुरुङले खेलाएका थिए।
छात्र भलिबलतर्फ वीरेठाँटी उमाविका सुजन गुरुङ र छात्रातर्फ धौलाश्री उमाविका सुस्मिता मगर बेस्ट प्लयेर घोषित भए। यस्तै कास्की जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष दिँदै आएको छात्रवृत्तिअन्तर्गत यस वर्ष छात्रातर्फ टप्स उमाविका शशी चौधरी र छात्रतर्फ वीरेठाँटीका राजु दर्जीले प्राप्त गर्न सफल भए। दुवैलाई जनही १० हजार प्रदान गरिएको थियो।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए। जेठ १४ देखि सञ्चालित प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता रहेको थियो।
