
जिनिभा, जेठ १७ / अमेरिकी विदेशमन्त्री जन केरी आइतबार जिनिभाको बाहिरी भागमा साइकल दुर्घटनामा परेका छन्, भने उनलाई खुट्टामा चोट लागेकाले उपचारका लागि स्विजरल्यान्डको एक अस्पतालतर्फ हेलिकप्टरमा लगिएको जानकारी अमेरिकी एक अधिकारीले दिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जन कर्बीले उनी आफ्नो साइकलबाट लडेको तर उनको होस नगुमेको बताए । उनले विदेशमन्त्री केरीको अवस्था स्थिर रहेको बताए ।
अमेरिकी विदेशमन्त्री केरीको खुट्टा भाँचिएको र उहाँ उपचारका लागि बोस्टन फर्कने तयारीमा रहेको www.independent.co.uk ले जनाएको छ ।
केरीको दुर्घटना स्विजरल्यान्डको सीमाबाट ४० किलोमिटर पर फ्रान्सको सिन्जयरमा भएको बताइएको छ । दुर्घटनाको एक दिन अगाडि उनले जिनिभामा इरानका विदेशमन्त्रीसँग पारमाणविक विषयमा वार्ता गरेका थिए ।
अमेरिकी विदेशमन्त्री केरीलाई उपचारका लागि जिनिभाको प्रमुख अस्पताल एचयुजीमा लगिएको थियो । उनी चढेको साइकल फुटपाथमा ठक्कर खाएपछि लडेको र उनको गाडीसँगै यात्रा गरिरहेका एक स्वास्थ्यकर्मीले उनको तत्कालै परीक्षण गरेको कर्बीले बताए । विदेशमन्त्री केरीको दाहिने खुट्टाको एक्स–रे लिइएको बताइएको छ ।
अमेरिकी विदेशमन्त्री केरी आफ्नो कूटनीतिक यात्रामा प्रायः साइकल चलाउँछन् । मार्च तथा मे महिनामा पनि विश्वका शक्ति राष्ट्र तथा इरानबीच स्विजरल्यान्डको लजानमा वार्ता हुँदा विश्रामको समयमा उनले निकैपटक साइकल चलाएका थिए ।
उनले शनिबार जिनिभा होटेलमा इरानी विदेशमन्त्री मोहमद जावेद जरिफसँग छ घण्टासम्म वार्ता गरेका थिए । उनीहरु जुन ३० सम्म एक एकीकृत सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा छन् ।
