
पोखरा, २० जेठ
उच्च माध्यमिक शिक्षा परिषदले लिने कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । भूकम्पबाट अति प्रभावित ७ जिल्ला बाहेक अन्य ६८ वटा जिल्लामा आजदेखि परीक्षा सुरु भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।
यसअघि बैशाख २० गतेदेखि सुरु हुने भनिएको परीक्षा भूकम्पका कारण ठ्याक्कै एक महिना पछि धकेलिएको हो ।
आजको परीक्षामा पश्चिमाञ्चल विकास क्षेत्रबाट १९ हजार ७२ जनाले को कास्की जिल्लाबाट ८ हजार ४ सय ७४ जना विद्यार्थी सहभागि भएका छन् । गण्डकी धौलागिरी अञ्चल हेर्दै आएको परिषदको पोखरा कार्यालयले गोरखा जिल्लाबाहेक अन्य जिल्लाहरुमा परीक्षा सुरु भएको जानकारी दिएको छ । गोरखा जिल्ला बाहेक पश्चिमाञ्चल विकास क्षेत्रमा यस वर्ष १९ हजार ७२ विद्यार्थीले परिक्षा फाराम भरे पनि १८ हजार ६ सय ७९ जनाले परिक्षा दिएको उच्च माध्यमिक शिक्षा परिषदका परिक्षा शाखाका कर्मचारी भरत खड्काले जानकारी दिए । ३ सय ९३ जना परिक्षार्थी भने परिक्षामा अनुपस्थित रहे ।
लमजुङ्गका केही विद्यालयहरुको परीक्षा केन्द्र पनि गोरखामै परेकाले लमजुङ्गका केही विद्यालयका विद्यार्थीहरु पनि आजदेखि सुरु भएको परीक्षामा सहभागि भएका छैनन् ।
गण्डकी धौलागिरीका १० जिल्लामा गरी ७५ हजार ३ सय ८१ जना विद्यार्थी परीक्षामा सहभागि हुनुपर्ने भएपनि गोरखाका र लमजुङ्गका केही विद्यालयमा परीक्षा हुन सकेको छैन ।
गोरखाका १ हजार ९ सय ५४ जना र लमजुङ्गका केही विद्यालयका १ सय ५५ जना विद्यार्थीलाई अर्को मितिमा तोकिने परीक्षा दिन पाउने पोखरा कार्यालयका प्रमुख अशोक न्यौपानेले जानकारी दिए ।
भूकम्पबाट अति प्रभावित अरु ७ जिल्लाको जनजीवन अझै सामान्य बनिनसकेकाले अर्को मिति तोकेर ती जिल्लामा पनि परीक्षा सुरु गरिने परिषद्ले जनाएको छ ।
भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा जिल्ला गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप रहेका छन् । जेठ ३१ गतेसम्म चल्ने परीक्षामा झण्डै साढे तीन लाख विद्यार्थी सहभागी छन् ।
