राखेप सदस्यसचिव लामाले भने-मेरो कार्यकाल सफल,खेलकुद बुझेको व्यक्तिलाई मात्रै सदस्यसचिव बनाउन आग्रह

Share:

२६ जेठ, काठमाडौं । चार वर्षे कार्यकाल सकिन ३ दिन बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव युवराज लामाले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । ०६८ साल जेठ २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार जेठ २९ गते उनी राखेप सदस्यसचिवमा नियुक्त भएका थिए । आउँदो शुक्रबार चार बर्षे कार्यकाल पूरा गरी विदा हुँदै गर्दा उनले मंगलबार पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा १० पृष्ठ लामो आत्मसमीक्षाको विवरण सार्बजनिक गरेका लामाले नेपाली खेलकुदको विकास र विस्तारको दृष्टिले आफ्नो कार्यकाल सफल रहेको बताए । उनले खेलकुद बुझेको व्यक्तिलाई मात्रै नयाँ सदस्यसचिवको जिम्मेवारी दिन सरकारलाई आग्रह समेत गरे ।
मन्त्रीसँगको टकराव

केही काम भने सोचेअनुसार गर्न नसकेको भन्दै उनले त्यसो हुनुमा विभागीय मन्त्री पुरुषोत्तम पौडेलसँगको टकरावलाई कारण देखाए । आफूलाई गैरकानुनी ढंगबाट बर्खास्त गर्न खोजेर मन्त्री पौडलले अनावश्यक टकराव निम्त्याएको र त्यसैको कारण अपेक्षित नतिजा हात लाग्न नसकेको जिकीर गरे ।

दोस्रो संविधानसभाको निर्वाचनपछि खेलकुदमन्त्री बनेका पुरुषोत्तम पौडेलले सदस्यसचिव लामालाई बर्खास्त गर्न खोजेका थिए । त्यसविरुद्ध लामा सर्वोच्च अदालत पुगेका थिए । सर्बोच्चले नहटाउन अन्तरिम आदेश दिएपछि उनी सदस्यसचिवमा कायम थिए ।

कमेन्ट गर्नुहोस्
Share: