
कास्की,२९ जेठ । राष्ट्रिय समाचार समितिका नवनियुक्त सञ्चालक समिति सदस्य गंगाधर पराजुलीले आज साँझ समितिको पोखरामा रहेको क्षेत्रीय कार्यालयको अवलोकन गरी कार्यरत कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।
२०३५ सालमा स्थापित क्षेत्रीय कार्यालयको अवलोकन पश्चात पराजुलीले राससलाई व्यवसायीक र विश्वसनीय संस्था बनाउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले राससको विश्वसनीयता बढाउने दायित्व कार्यरत कर्मचारीकै भएको बताउँदै व्यवसायीक पत्रकारिता गर्न संचारकर्मीहरुलाई निर्देशन दिनुभयो ।
“रासस भनेको अन्यत्र जागिर नपाएर जागिर खाने संस्था होइन, व्यवसायीक र जिम्मेवारीपूर्ण पत्रकारिता गर्ने थलो हो भन्ने सबैले बुझ्नुपर्छ ।”– उहाँले भन्नुभयो । राजनीतिक आस्था र विचारलाई पर राखेर पत्रकारिता गर्नु पर्नेमा उहाँले जोड समेत दिनुभयो ।
उहाँले राम्रो समाचारले राससको विश्वसनीयता बढ्ने मात्र नभई आम्दानीमा पनि बृद्धि हुने भएकोले त्यसैलाई मूल मन्त्र मानी काम गर्नुपर्ने बताउनुभयो ।
२०३५ सालमा स्थापित राससको क्षेत्रीय कार्यालय पोखराको नयाँबजारमा रहेको छ । २ रोपनी १२ आना जग्गामा रहेको राससको कार्यालय अहिले जीर्ण बनेको छ । जीर्ण भवनको मर्मत र राससको प्रतिष्ठा बढाउन आफूले प्रयत्न गर्र्नेे उहाँको प्रतिवद्धता थियो ।
नवनियुक्त बोर्ड सदस्य पराजुलीलाई स्वागत गर्दै क्षेत्रीय कार्यालयका प्रमुख निमदत्त सुवेदीले जिर्ण भवनको मर्मत, जग्गाको सुरक्षाको लागि कम्पाउण्डिङ, समाचार कक्षको आधुनिकीकरणको लागि ध्यानाकर्षण गराउनुभएको थियो ।
लामो समय पत्रकारिता गर्दा आफूले यो क्षेत्रको समस्यालाई नजिकबाट नियालेको बताउँदै उहाँले राससको प्रतिष्ठा बढाउन कुलचन्द्र वाग्ले नेतृत्वको वर्तमान सञ्चालक समितिले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
